२३ बैशाख, २०८१ आइतबार

04:59:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कस्तो रह्यो यस साता सेयर बजार ?

Nepal Business

१ असोज, २०७९

कस्तो रह्यो यस साता सेयर बजार ?

काठमाण्डौं । सेयर बजार यस साता पनि ओरालो लागेको छ । यस साता सेयर बजार २७.३६ अंकले घटेको छ । यो गत हप्ताकोभन्दा साढे एक प्रतिशतले कम हो ।

यस्तै नेप्से परिसूचक १९१०.३८ विन्दुमा झरेको छ भने गत हप्ता १९३७.७४ विन्दुमा रहेको थियो । ६ दिनको कारोबारमध्ये ४ दिनमा सेयर बजार घटेको थियो भने दुई दिन बढेको थियो ।

यस्तै गत साता दैनिक औषतमा १ अर्ब १ करोडको सेयर कारोबार भएको बजारमा यस साता १ अर्ब १६ करोडको शेयर खरिद बिक्री भएको छ । यस साताको दैनिक औषत कारोबार रकम अघिल्लो साताको तुलनामा १५.४९ प्रतिशत बढी हो ।

यस साता सेन्सेटिभ इण्डेक्स ४.९४ अंक, फ्लोट इण्डेक्स १.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८१ अंक घटेको छ । नेप्से घटेपनि यस साता कारोबार रकम भने बढेको छ । यस साताको दैनिक औषत सेयर संख्या २७.५० प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ७.१७ प्रतिशत बढेको छ ।

यस साता नेप्सेको कुल बजार पुँजीकरण १.२४ प्रतिशत घटेको छ । गत साता २७ खर्ब ७९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यस साता ३४ अर्ब घटेर २७ खर्ब ४४ अर्बमा सीमित भएको छ ।
यस साता व्यापार उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । यस साता व्यापार उपसमूहको परिसूचक १.५५ प्रतिशत बढेको छ ।

घटेका १२ उपसमूहमध्ये यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.११ प्रतिशत घटेको छ भने बैंकिङ्ग उपसमूहको सबैभन्दा कम ०.३० प्रतिशत घटेको छ । अंकका आधारमा यस साता व्यापार उपसमूहको परिसूचक २८.९० अंक बढेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक १३३.६३ अंक घटेको छ ।

यस साता १ कम्पनीको मात्र सेयर नेप्सेमा सूचीकृत भएको छ । यस साता मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ लाख ७० हजार १४२.३१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । यस साता थोरै स्टकको मूल्य मात्र बढेको छ । यी स्टकहरुको मूल्य वृद्धिदर भने कम रहेको छ । यस साता ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ४ प्रतिशत बढेको छ ।

अन्य स्टकहरुको मूल्य वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ । यता, अपर सोलु हाइड्रोपावरको सेयरमूल्य यस साता सर्वाधिक १३.३९ प्रतिशत घटेको छ । एनएमबि ५०, एनआईबिएल प्रगति फण्ड, श्वेत गंगा हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक लगायतका स्टकहरुको मूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ ।

साताको फ्लोरसिट विश्लेषण गर्दा यस साता प्राइम बैंकको ऋणपत्र, जाल्पा सामुदायिक लघुवित्त, ग्रीन डेभलपमेन्ट, आरएमडिसी लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टकको सूचीमा परेका छन् भने ग्लोबल आईएमइ समुन्नत स्किम १, युनिलिभर नेपाल लिमिटेड, घलेम्दी हाइड्रो लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टकको सूचीमा परेका छन् ।