१७ बैशाख, २०८१ सोमबार

08:37:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कहिले समाधान हुन्छ पटकपटक अवरुद्ध हुने विद्युत्को समस्या ?

Nepal Business

२९ भदौ, २०७९

एकै दिनमा दर्जनौँ पटक विद्युत् आउने र जाने समस्याले जिल्लाका सेवाग्राही मारमा परेका छन्

कहिले समाधान हुन्छ पटकपटक अवरुद्ध हुने विद्युत्को समस्या ?

खोटाङ,

खोटाङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको २२ वर्ष भयो । 

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विसं २०५७ मा हेलिकप्टरमार्फत दिक्तेल आएर उद्घाटन गर्नुभएको केन्द्रीय प्रसारण लाइनको विद्युत् अहिले जिल्लाका दशवटै स्थानीय तहमा विस्तार गरिएको छ । 

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विसं २०५७ मा हेलिकप्टरमार्फत दिक्तेल आएर उद्घाटन गर्नुभएको केन्द्रीय प्रसारण लाइनको विद्युत् अहिले जिल्लाका दशवटै स्थानीय तहमा विस्तार गरिएको छ । 

सुरुमा ११ केभी क्षमताको विद्युत् सञ्चालन गरिएको जिल्लामा छ वर्षअघि विसं २०७३ मा ३३ केभी क्षमतामा स्तरोन्नति गरिएको थियो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सबस्टेशन रहेको केन्द्रीय प्रसारण लाइनको विद्युत्मा अहिले जिल्लाका तीन वटा जलविद्युत् आयोजना जोडिएका छन् । 

साप्सुखोला जलविद्युत् आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना र मेवाखोला हाइड्रोपावर गरी १०।६ मेगावाट जलविद्युत् ३३ केभी केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । 

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट उत्पादन गरिएको साप्सुखोला जलविद्युत् आयोजना ६.६ मेगावाट, केपिलासगढी गाउँपालिका–६ दिप्सुङ र वडा नं ७ सुङ्देलको सिमानामा पर्ने रावाखोलाबाट तीन मेगावाट र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मेवाखालाबाट एक मेगावाट क्षमताको जलविद्युत् बुइँपा–जलजले प्रसारणलाइनमा जोडिएको हो । 

दश स्थानीय तह रहेको जिल्लामा अहिले तीन मेगावाट क्षमताको विद्युत्मात्र खपत भइरहेको नेपाल विद्युत् प्राधिकरण खोटाङले जनाएको छ । 

विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रको तथ्याङ्क शाखाले दिएको जानकारीअनुसार जिल्लामा अहिले २२ हजार दुई सय ८२ विद्युत् उपभोक्ता रहेका छन् ।  

जिल्लामा उत्पादित विद्युत्मध्ये तीन भागमा एक भाग पनि खपत भएको छैन । जिल्लामा विस्तार गरिएका केन्द्रीय प्रसारण लाइनको विद्युत् पटकपटक अवरुद्ध हुँदा विद्युत् उपभोक्ता हैरानीमा परेका छन् । यतिसम्म कि, जिल्लामा अलि बढी पानी पर्दा, अलि ठूलो हावा चल्दा र बाढीपहिरो आउनासाथ विद्युत् अवरुद्ध हुने गरेको छ ।

एकै दिनमा दर्जनौँ पटक विद्युत् आउने र जाने समस्याले जिल्लाका सेवाग्राही मारमा परेका छन् । झ्याप्प आउने र झ्याप्प जाने केन्द्रीय प्रसारण लाइनको विद्युत्ले विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो छ । 

पटकपटकको विद्युत् अवरुद्धबारे नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दिलीप खत्रीको नेतृत्वमा गत भदौ–१ गते जिल्लास्थित क्रियाशील पत्रकारले दिक्तेल वितरण केन्द्रका प्रमुख इञ्जिनीयर विजयराज रेग्मीलाई भेटेर अनियमित विद्युत्लाई नियमित गराउन ध्यानाकार्षणसमेत गराएका छन् । पटकपटक विद्युत् अवरुद्ध हुँदा समाचार सम्प्रेषणमा समस्या भएको भन्दै तत्काल दीर्घकालीनरुपमा समस्या समाधान गर्न प्राधिकरणको ध्यानाकर्षण गराइएको अध्यक्ष दाहालले बताउनुभयो । 

लामो दूरी, जङ्गलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जानाले पटकपटक विद्युत् अवरुद्ध विद्युत् हुने गरेको विद्युत् प्राधिकरणले बताउँदै आएको छ । 

पटकपटक अवरुद्ध हुँदै आएको विद्युत् सञ्चालनमा ल्याउन प्राधिकरणले सम्बन्धित क्षेत्रमा प्राविधिक टोली तत्कालै पठाए पनि विभिन्न बहानामा उनीहरु फोन सम्पर्क नहुने ठाउँ गएर बस्ने गरेका समाचार स्रोतले दाबी गरेको छ । 

दिक्तेल–गाईघाट प्रसारण लाइन लामो दूरी भएकै कारण जिल्लामा विस्तार गरिएका विद्युत्मा पटकपटक समस्या आउने गरेको वितरण केन्द्रका प्रमुख रेग्मीले बताउनुभएको छ ।

 “मौसममा खराबी आउनासाथ ठाउँठाउँमा अवरुद्ध हुने गरेको छ ।” उहाँले भन्नुभयो, “लामो समयदेखि पटकपटक हुँदै आएको समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न लागिपरेका छौँ । लामो दूरी र जङ्गलको बाटो भएका कारण समाधान भएको छैन ।”