१७ बैशाख, २०८१ सोमबार

05:14:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आईपीओको बाँकी रकम बुझाउन सेयरधनीलाई त्रिशूली जलविद्युत कम्पनीको आह्वान

२८ भदौ, २०७९

आईपीओको बाँकी रकम बुझाउन सेयरधनीलाई त्रिशूली जलविद्युत कम्पनीको आह्वान

काठमाडौं ।  त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको साधारण सेयर (आईपीओ) बापतको बाँकी रकम आगामी ४ असोजबाट बुझाउन आह्वान गरेको छ।  माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनीले आज (मंगलबार) एक सूचना प्रकाशित गर्दै बाँकी रकम बुझाउन सेयरधनीहरुलाई आग्रह गरेको हो।

रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको उक्त आयोजनाले २०७५ सालमा प्रतिकित्ता १० रुपैयाँ संकलन गरेको थियो । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निश्कासन गरी प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो ।

कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्ने छ । कम्पनीले सेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ संकलन गर्नेछ।

रकम बुझाउन कम्पनीले कात्तिक १७ गतेसम्मको समय तोकेको छ। कार्यविधिअनुसार रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले वार्षिक ८ प्रतिशत ब्याज दिनुपर्ने प्रावधान रहेकोले सेयरधनीले प्रतिकित्ता ३ रुपैयाँ ब्याज प्राप्त गर्ने हुँदा हाल प्रतिकित्ता ८७ रुपैयाँमात्र जम्मा गरे पुग्नेछ।

सेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट समेत रकम बुझाउन वा आवेदन दिन सक्ने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ अनुसार सेयर वापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका सेयरधनीले लिन कबुल गरेको सेयर वापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नु पर्ने व्यवस्था छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनीबाट साविकका सर्वसाधारण सेयरधनीहरुलाई आव्हान गरेको चुक्ता हुन बाँकी रकम बुझाउनका लागि समयमा नै आफ्नो हितग्राही खाता र बैंक खाता अद्यावधिक गर्न र मेरोसेयर नविकरण गर्न कम्पनीले अनुरोध गरेको छ।