१७ बैशाख, २०८१ सोमबार

08:06:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जलविद्युत आयोजनासँग जोडिएका जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्छः ऊर्जामन्त्री

Nepal Business

२७ भदौ, २०७९

जलविद्युत आयोजनासँग जोडिएका जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्छः ऊर्जामन्त्री

काठमाण्डौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत आयोजनासँग जोडिएका प्राविधिक, वित्तीय, पर्यावरणीय, प्राकृतिक प्रकोपलगायत जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल हाइड्रो पावर एसोसिएसन र इन्टरनेसनल हाइड्रोपावर एसोसिएनको आज सोमबार यहाँ आयोजना गरेको uilding Back Better and Greener with Sustainable Hydropower विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले जलविद्युत आयोजनाहरुको दिगो विकासका लागि भरपर्दो र बलियो संरचनाहरु निर्माण गर्न, वातावरणलाई न्यून असर गर्दै प्रभावित समुदायको जीवनस्तरलाई गुणस्तरीय बनाउन सरकार लागि परेको बताउनुभयो । 

मन्त्री भुसालले जनताको गुणस्तरीय जीवनका लागि आवश्यक कानून, निर्देशिका र मापदण्डहरु तयार गरी लागू गरेको स्पष्ट पार्नुभयो ।

हरित ऊर्जा, विशेषगरी जलविद्युत र नवीकरणीय ऊर्जाको दिगो विकासका लागि अन्तर्राष्ट्रिय अनुभव र अभ्यास, नयाँ प्रविधिको विकास समेतलाई ध्यानमा राख्दै सम्मेलन सम्पन्न हुने विश्वास व्यक्त गर्दै मन्त्री भुसालले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरोकारवालाहरूको छलफलबाट महत्वपूर्ण सुझाव प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

जलवायु परिवर्तनको कारण अप्रत्यासित बाढी पहिरो, भूक्षयजस्ता प्राकृतिक प्रकोप, जैविक विविधतामा ह्रास लगायतका असरहरु भोग्नु परिरहेको उल्लेख गर्दै उहाँले दिगो रुपमा जलविद्युत आयोजनाका विकास, व्यवस्थापन र उपयोग गर्ने विषय अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो ।

गुणस्तरीय र भरपर्दो विद्युत सेवा उपलब्ध गराउन जलविद्युत आयोजना, प्रसारण एवं वितरण लाइन तथा सब–स्टेशनहरु निर्माणमा विशेष प्राथमिकता दिईएको बताउँदै मन्त्री भुसालले जलविद्युतको लागि सार्वजनिक–निजी साझेदारी, सहकारी र स्वदेशी तथा विदेशी निजी क्षेत्रको लगानीलाई परिचालन गरी व्यवस्थित रूपमा आयोजना विकासलाई अघि बढाउने नीति लिइएको जानकारी दिनुभयो ।