२३ बैशाख, २०८१ आइतबार

08:46:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हालसम्म स्वास्थ्य बीमामा २३ अर्ब रूपैयाँ भन्दा बढी भुक्तानी, चालु आर्थिक वर्षमा कति ?

Nepal Business

२३ भदौ, २०७९

हालसम्म स्वास्थ्य बीमामा २३ अर्ब रूपैयाँ भन्दा बढी भुक्तानी, चालु आर्थिक वर्षमा कति ?

काठमाण्डौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा कार्यक्रम शुरूवात भएदेखि हालसम्म २३ अर्ब रूपैयाँ भन्दा बढी भुक्तानी गरेको छ ।

बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक संस्थाहरूलाई २ अर्ब ६७ करोड रूपैयाँ पहिलो दाबी भुक्तानी रकम पठाएको छ । चालु आवमा पठाएको रकमसहित हालसम्म बोर्डबाट २३ अर्ब रूपैयाँ भन्दा धेरै भुक्तानी भएको हो ।

बोर्डले गत आर्थिक वर्षमा २१ अर्ब रूपैयाँ भुक्तानी गरेको थियो । चालु आवमा बोर्डले बोर्डमा आवद्ध भएका विभिन्न सेवा प्रदायक संस्थाहरूलाई २ अर्ब ६७ करोड ११ लाख ६४ हजार ७४८ रूपैयाँ भुक्तानी गरेको हो ।

बोर्डको भदौं २० गते बसेको बैठकले सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आशिंक पेस्की फर्छौट गर्ने निणर्य गरेको थियो । हाल बोर्डसँग ४४९ वटा सेवा प्रदायक संस्थाहरू सूचीकृत छन् ।

स्वास्थ्य बीमा बोर्डमा सूचीकृत भएका यी सेवा प्रदायक संस्थाहरूले बीमा कार्यक्रममा आवद्ध भएका बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउँछन् । बोर्डका अनुसार सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आकस्मिक पेस्की फर्छौट गरिएको हो ।

बोर्डसँग सम्झौता भएका सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा पुर्याएका सेवाग्राहीको उपचार प्याकेजसहित एक हप्ताभित्र निर्दिष्ट गरिएको ढाँचामा दाबी प्रविष्ट हुने गरेको र त्यसको समीक्षा÷मूल्याङ्कन पश्चात् बोर्डबाट दाबीको भुक्तानी गर्ने प्रक्रिया अवलम्वन गरिन्छ।

बोर्डसँग सम्झौता भएका सूचीकृत स्वास्थ्य संस्थाहरूले कार्यक्रममा बीमित सदस्यहरूलाई सेवा प्रदान गरे बापतको लागत रकम माग दाबी गर्न बोर्डको बीमा व्यवस्थापन सूचना प्रणालीमार्फत पठाउँछन् ।

भुक्तानीको लागि प्राप्त दाबीहरू मूल्यांकन र सूचना प्रविधि शाखाबाट थप मूल्यांकन सहितको प्रतिवेदनका साथ भुक्तानीका लागि बोर्डका कार्यकारी निर्देशकसमक्ष पेश हुने र आवश्यक प्रक्रिया पुर्याई बैंकिङ प्रणालीमार्फत सम्बन्धीत सेवा प्रदायक संस्थालाई भुक्तानी हुन्छ ।

स्वास्थ्य बीमा कार्यक्रममा परिवारलाई इकाईको रूपमा मानिन्छ र परिवारको योगदानको आधारमा स्वास्थ्य सेवा प्रवाह र उपभोग हुने गर्छ । प्रतिपरिवार (५जनासम्म) ३५ सय रूपैयाँ योगदानको आधारमा १ लाख रूपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा र थप परिवार सदस्य ७ सय रूपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य २० हजार रूपैयाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ । 

स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा २ लाख रूपैयाँ (१० जनाको परिवार सदस्य)सम्म रहेको छ । यस कार्यक्रम हालसम्म देशका ७७ वटै जिल्लामा विस्तार भएको छ । ७४६ वटा स्थानीय तहमा पुगेको यस कार्यक्रममा हालसम्म ५९ लाख ७५ हजार ३२३जना बीमित सहभागी भएका छन् । कार्यक्रम विस्तार हुन बाँकी रहेका स्थानीय तहमा पनि चाडै सेवा पुर्याउने बोर्डको योजना छ ।

बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक सुरक्षाका रूपमा शुरूवात भएको थियो । हाल यस कार्यक्रम स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ ।