२० बैशाख, २०८१ बिहिबार

03:41:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खेलकुदमा राजनिती नगरौंः मन्त्री अथक

Nepal Business

२२ भदौ, २०७९

खेलकुदमा राजनिती नगरौंः मन्त्री अथक

काठमाण्डौं । युवातथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले खेलक्षेत्रमा राजनीति नगर्न आग्रह गर्नुभएको छ ।नेपाल भलिबल संघको नवौँ चुनावी साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले सहमतीबाट संघको नयाँ नेतृत्व चयन गर्न समेत आग्रह गर्नुभएको हो । 

काठमाण्डौंको बबरमहलस्थित कार्की ब्याङक्वेटमा बुधबार देखी सुरु भएको भलिबल संघको साधारणसभाको उद्घाटन गर्दै मन्त्रीअथकले खेल क्षेत्रको संस्थागत विकासका लागि स्थापना भएका खेल संघहरु खेलकुदमै केन्द्रित हुनुपर्ने धारणा राख्नुभएको हो ।

खेल क्षेत्रको संस्थागत विकासको अभिभारा बोकेका खेल संघमा देखिएको राजनैतिक विचलनतर्फ ईगितगर्दै मन्त्री अथकले भन्नुभयो, ‘तपाईहरु खेलकुदमा केन्द्रित हुनु होस, राजनिति गर्ने त विभिन्न पार्टी छदैँ छन नि ।’

नेपालमा खेलकुदलाई सामान्य क्रियाकलापका रुपमा मात्र हेर्ने प्रवृत्तिले खेलकुद क्षेत्रको विकासमा चुनौती थपिएको बताउँदै मन्त्री अथकले राज्यले खेलकुदलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय खेलमैत्री वातावरण सृजना गर्न सरकार लागि परेको बताउँदै मन्त्री अथकले सिंहदरबारलाई खेलकुद बुझाउन आवश्यक रहेको जिकिर गर्नुभयो ।  

नेपालमा भलिबल खेलको राम्रो सम्भावना देखिएकाले नै राज्यले भलिबललाई राष्ट्रिय खेलका रुपमा सुचिकृत गरेको उल्लेख गर्दै मन्त्री अथकले भलिबल खेलको समग्र विकासमा सरकार लागि परेको बताउनुभयो । खेललाई उद्योगका रुपमासमेत विकास गर्नुपर्ने उहाँको भनाई थियो । 

खेलाडीहरुको मनोबल बढाउन खेलकुद मन्त्रालयले ऐनमै पुरस्कार तथा सम्मानको व्यवस्था गरेको र मन्त्रीपरिषदबाट समेत अनुमोदन भईसकेको जानकारी गराउँदै मन्त्री अथकले अब कुनै पनि खेलाडीको मिहेनत खेर जान नदिने प्रतिवद्धता समेत जनाउनुभयो । 

राज्यको प्रतिनिधत्व गर्दैै विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको सहजताका लागि विशेष पासपोर्टको व्यवस्था गर्नेबारे समेत छलफल भईरहेको उहाँको भनाई थियो । 

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव टंकलाल घिसिङ लगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।