२४ बैशाख, २०८१ सोमबार

01:57:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, आयल निगमलाई अझै मासिक ६१ करोड घाटा

१७ भदौ, २०७९

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, आयल निगमलाई अझै मासिक ६१ करोड घाटा

काठमाडौं । नेपाल आयल निगममले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए राति (बिहीबार) १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो । निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको छ ।

निगमले मूल्य बढाएसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७२ थियो । पेट्रोल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत राखिएको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ८२ पैसा नाफा रहेकाले नबढाइएको निगमले जनाएको छ ।

हाल पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १८१, हवाई इन्धन (आन्तरिक) को १९०, हवाई इन्धन (बाह्य) को १ दशमलव ६४ अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ८०० रुपैयँ कायमै छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थ केही समय घट्दो क्रममा रहेको भए पनि पछिल्लो १५ दिनमा पुनः मूल्य बढ्न थालेको छ । आईओसीबाट बिहीबार निगमलाई प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रति लिटर १ रुपैयाँ ३९ पैसा, डिजेलमा छ रुपैयाँ १२ पैसा र  हवाई इन्धनमा ८ रुपैयाँ १ पैसाले बढेर आएको छ ।

एलपी ग्यासमा अझै प्रतिसिलिण्डर ३७८ रुपैयाँ ७ पैसा तथा डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १८ पैसा घाटा रहेको निगमले जनाएको छ । निगमलाई पेट्रोलमा २ रुपैयाँ ८२ पैसा नाफा छ । मूल्य समायोजनपश्चात् पनि १ महिनामा ६१ करोड घाटा हुने निगमको प्रक्षेपण छ ।  यस्तै पेट्रोलियम पदार्थ खरिद बापतको करिब २१ अर्ब आईओसीलाई तिर्न बाँकी रहेको पनि निगमले जनाएको छ ।