५ जेठ, २०८१ शनिबार

12:17:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पहिरापीडितलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

Nepal Business

४ माघ, २०७८

पहिरापीडितलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

४ माघ । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले पहिरापीडित परिवारलाई राहत उपलब्ध गराउन बेवास्ता गरेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

सभामुख शाहीले मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाहीलाई भेटेर दैलेखको ठाटीकाँध गाउँपालिका–४ का पहिरापीडितलाई तत्काल राहत उपलब्ध गराउन माग गर्नुभएको हो । 

सभामुखका स्वकीय सचिव तेजबहादुर महताराले प्रदेशका अन्य जिल्लाका प्रकोप पीडितले राहत तथा क्षतिपूर्ति पाइसक्दा प्रदेश सरकारबाट दैलेखका पीडितको बेवास्ता गरिएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको बताउनुभयो । ठाटीकाँध गाउँपालिका–४ विशालामा २०७७ साल भदौ २ गते राति परेको अविरल वर्षाका कारण पहिरा गई दुई जनाको मृत्यु हुनुका साथै सात घर पूर्णरुपमा भत्केका थिए । 

प्रदेश सरकारले पहिराबाट पूर्ण क्षति भएका परिवारलाई रु एक लाख राहत दिने निर्णय गरेको थियो तर उक्त निर्णयानुसार आफ्नो क्षेत्रका पीडितले राहत नपाएपछि सभामुख शाही मुख्यमन्त्री कार्यालयमा जानुभएको हो । सभामुखसँगको भेटमा मुख्यमन्त्री शाहीले तत्काल राहत रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।