२६ बैशाख, २०८१ बुधबार

02:33:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कसरी पुर्याउँदै छन् ९ जीवन बीमा कम्पनी मर्जमा नगई ५ अर्ब पूँजी ?

१० भदौ, २०७९

कसरी पुर्याउँदै छन् ९ जीवन बीमा कम्पनी मर्जमा नगई ५ अर्ब पूँजी ?

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई आगामी चैतमसान्तभित्र मर्जरमा जान आग्रह गरेको छ । समितिले गरेको अनुरोधलाई मान्दै १९ बीमा कम्पनीहरु मर्जरमा जाने भएका छन् ।

तर केही बीमा कम्पनी भने मर्जमा नजाने देखिएका छन् । ती कम्पनीहरुले आफ्नै पूँजी वृद्धि गर्ने कार्ययोजना बीमा समितिमा पेश गरेका छन् । अहिले १९ जीवन बीमा कम्पनी र १९ निर्जीवन बीमा कम्पनी रहेका छन् ।

नेपाल लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ, रिलायबल लाइफ, बीमा संस्थान र एशियन लाइफ इन्सुरेन्सले आफ्नै पूँजी वृद्धि गर्ने जनाएका छन् । अमेरिकी बीमा कम्पनी मेटलाइफले पनि मर्जरमा नगई आफ्नै पूँजी वृद्धि गर्ने जनाएको छ । यी कम्पनीहरुले संस्थापकहरुले रकम थप गर्दा पनि पूँजी नपुगे १५ प्रतिशत हकप्रद जारी गर्ने बीमा समितिलाई जानकारी गराएका छन् ।

आगामी चैतसम्ममा निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी अढाई अर्ब र जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुर्याउनुपर्नेछ । अहिले निर्जीवन बीमा कम्पनीको लागि न्यूनत्तम चुक्ता पूँजी १ अर्ब र जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ छ ।

कुन कम्पनीलाई कति चाहिन्छ पूँजी ?

१) सिटिजन लाइफ इन्सुरेन्स

सिटिजन लाइफ इन्सुरेन्सले बीमा समितिमा मर्जरमा जाने भनेर कार्ययोजना पेश गरेको छैन । इन्सुरेन्सले कार्ययोजना पेश गर्ने समय गत चैतसम्म थियो । तर सिटिजन कम्पनीले कार्ययोजना पेश नगरेको हुनाले पनि आफैं पूँजी वृद्धि गर्ने बुझिएको छ । हाल यस इन्सुरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको यसले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय विवरणमा उल्लेख छ । यसको रिजर्भमा ८७ करोड १६ लाख रुपैयाँ रहेको छ ।

सिटिजनले सर्वसाधारणमा आईपीओ जारी गरेको छैन । ७० प्रतिशत संस्थापक सेयरधनीको लगानी भए पनि ३० प्रतिशत आईपीओ जारी गर्न पाइन्छ । यसले आईपीओ जारी गरेर दुई अर्ब रुपैयाँ पुर्याउन सक्छ । तर, अझै २ अर्ब बढी पूँजी अपुग हुन्छ ।

२) लाइफ इन्सुरेन्स कम्पनी

यस कम्पनीको गत आर्थिक वर्षको असार मसान्तसम्म २ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । यसको जगेडा कोषमा ६१ करोड ५५ लाख रुपैयाँ छ । चैतसम्म एलआईसीले ५ अर्ब पुर्याउनुपर्नेछ । त्यसका लागि झण्डै साढे २ अर्ब अपुग देखिन्छ । जगेडा कोषको रकमलाई पूँजीकरण गर्दा पनि यसले तोकिएको पूँजी वृद्धि गर्न २ अर्ब रुपैयाँ थप्नुपर्ने हुन्छ ।

३) रिलायबल लाइफ इन्सुरेन्स

रिलायबल लाइफ इन्सुरेन्सले पनि अन्य कुनै संस्थासँग मर्जर नगई बलियो बन्ने लक्ष्य लिएको बीमा समितिले जनाएको छ । रिलायबलले पनि सर्वसाधारणमा आईपीओ जारी गरेको छैन । यसको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ छ । यसको रिजर्भमा एक अर्ब ९ करोड रुपैयाँ छ ।

४)एशियन लाइफ इन्सुरेन्स

एशियन लाइफ इन्सुरेन्सको चुक्ता पूँजी २ अर्ब ५३ करोड रुपैयाँ छ । यसको रिजर्भमा ५८ करोड ३६ लाख रुपैयाँ छ ।

५) आईएमई लाइफ इन्सुरेन्स

आईएमई लाइफ इन्सुरेन्सले पनि आईपीओ जारी गरेको छैन । यसको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ छ । यसको रिजर्भमा ७७ करोड रुपैयाँ छ । आईपीओ जारी गरेर अहिलेको चुक्ता पूँजीको सीमा भेट्टाए पनि ५ अर्ब पुर्याउन गाह्रो छ ।

६) सन नेपाल लाइफ इन्सुरेन्स

सन नेपालको चुक्ता पूँजी २ अर्ब २४ करोड रुपैयाँ छ । यसको रिजर्भमा ५४ करोड ८८ लाख रुपैयाँ छ ।

७) मेटलाइफ अमेरिकन लाइफ इन्सुरेन्स

मेटलाइफ अमेरिकन लाइफ इन्सुरेन्सले आफ्नो वित्तीय विवरणमा चुक्ता पूँजी उल्लेख गरेको छैन । यद्यपि यसको नेपालमा सृजना हुने सम्पूर्ण दायित्व पूरा गर्ने प्रतिबद्धता समितिमा गरेको छ ।

८) राष्ट्रिय बीमा संस्थान

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको हाल चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँमात्रै छ । बीमा विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भइसकेको छ । विद्येयक ऐनको रुपमा लागू भएपछि सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेड कम्पनीमा परिणत हुनेछ । विधेयक लागू भएपछि राष्ट्रिय बीमा संस्थान ऐन २०२५ खारेज हुनेछ ।

विधेयकअनुसार राष्ट्रिय बीमा संस्थान एक वर्षभित्रमा पब्लिक लिमिटेड कम्पनीमा परिणत हुनुपर्नेछ । कम्पनीमा परिणत भएपछि संस्थानले चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउनुपर्नेछ ।