२८ बैशाख, २०८१ शुक्रबार

11:43:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नागरिक लगानी कोषको २७ औं वार्षिक साधारणभामा ३० प्रतिशत बोनस सेयर र १.५७८९ प्रतिशत नगद लाभांस स्वीकृत

Nepal Business

७ भदौ, २०७९

नागरिक लगानी कोषको २७ औं वार्षिक साधारणभामा ३० प्रतिशत बोनस सेयर र १.५७८९ प्रतिशत नगद लाभांस स्वीकृत

काठमाडौं । नागरिक लगानी कोषले आर्थिक वर्ष २०७७÷७८ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १.५७८९ प्रतिशत नगद लाभांस स्वीकृत गरेको छ ।

कोषको २७ औं वार्षिक साधारणभाले सो नगद लाभांस स्वीकृत गरेको हो ।  सोही आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथी छलफल गरी पारित गरेको छ । यो सँगै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ ।

सभामा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापाले कोषले संचालन गरिरहेको सरकारी, गैर सरकारी एवं नीजि प्रतिष्ठामा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूति सहितको बचत कार्यक्रमले समेटने बताउनुभयो । 

उहाँले कोषले संकलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजनाहरु, पूर्वाधार विकास तथा उत्पादनमुलक क्षेत्रहरु, सहभागीहलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटीहरु एवं पुँजीबजारका विकास गरी लगानी विविधिकरण गरी प्रतिफल अभिबृद्ध गर्न सकिने बताउनुभयो । 

यस्तै कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले आर्थिक बर्ष २०७८÷७९ को असार मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब १७ अर्ब ३२ करोड २२ लाख रुपैँया पुगेको बताउनुभयो । सो अवधिमा कोषले १ खर्व ९४ अर्व ९२ करोड लगानी गरेको छ ।

कोषद्वारा संचालित सम्पूर्ण कार्यक्रममा एनएलके वेभ बेष्ड सफ्टवेयर पूर्ण रुपमा लागु गरिएको छ । साथै सरकारी लेखा प्रणाली (सिगास) सफ्टवेयरमा डाटा लिने कार्य सम्पन्न भएको छ ।

नयाँ सफ्टवेयर प्रयोगको लागि आवश्यक उपकरणहरु कोषको प्रणालीमा जडान गरि सकिएको छ । यो संगै कोषमा आवद्ध भएका विभिन्न प्रतिष्ठान, संघ, संगठनहरुबाट रकम संकलन गर्ने कार्य अनलाइन प्रणालीबाट गर्ने व्यवस्था भइसकेको छ । सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकमा अशोक बुढाथोकी निर्विरोध निर्वाचित हुनुभएको छ ।