१६ बैशाख, २०८१ आइतबार

11:31:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लगानीमैत्री वातावरण बनाउन सुदुर पश्चिम सरकार प्रतिबद्ध

Nepal Business

३ माघ, २०७८

लगानीमैत्री वातावरण बनाउन सुदुर पश्चिम सरकार प्रतिबद्ध

३ माघ  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जग्गाको सहज उपलब्धता सँगसँगै सुरक्षाको प्रत्याभूति र कानुनमा देखिने झमेलाको सहजीकरण गर्न सकेमा लगानीमैत्री वातावरण बन्ने बताउनुभएको छ ।

प्रदेशमा अहिलेसम्म कसैबाट पनि लगानी गरिएको छैन, लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध छ

गैरआवसीय नेपाली सङ्घ (एनआरएन)का अध्यक्षसहितका पदाधिकारीको सहभागितामा सोमबार धनगढीमा भएको अन्तरक्रियामा मुख्यमन्त्री भट्टले नेपालमा विकास र लगानीको मोडेलमा एकरुपता नहुँदा पनि लगानी मैत्री वातावरण बन्न नसकिरहेको बताउनुभयो । 

प्रदेशमा पर्यटन, कृषि, ऊर्जा, उद्योगलगायत क्षेत्रमा लगानी गर्न सकिने सम्भावना आँैल्याउँदै उहाँले भन्नुभयो, “प्रदेशमा अहिलेसम्म कसैबाट पनि लगानी गरिएको छैन, लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।” मुख्यमन्त्रीले अहिलेसम्म नेपालमा र खासगरी सुदूरपश्चिम प्रदेशमा गरिएको सहयोगप्रति एनआरएनलाई धन्यवाद दिनुभयो ।  

आर्थिक मामिलामन्त्री तारालामा तामाङ र भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशको समग्र विकासका लागि एनआरएनबाट भूमिका निर्वाह भइरहने विश्वास व्यक्त गर्नुभयो । 

एनआरएनका अध्यक्ष कुमार पन्तले विदेशमा बसेर प्राप्त भएको ज्ञान सीपलाई आफ्नै देशको समृद्धिका लागि प्रयोग गर्ने सोच संस्थाको रहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “नेपालमा कोभिड–१९ को समस्या आउँदा सबैभन्दा पहिले एनआरएनले नै सहयोग सामग्री पठाएको थियो ।” एनआरएनको पहलमा नेपालमा रु दस अर्ब लागानीका लागि प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

संस्थाका पूर्वअध्यक्ष जीवा लामिछाने, नेपाल सरकारका पूर्वमुख्य सचिव लीलामणि पौडेल, पत्रकार दीर्घराज उपाध्याय लगायतले सुदूरपश्चिममा लगानी मैत्री वातावरणका सम्भावना र चुनौतीका विषयमा आफ्ना धारणा राख्नुभएको थियो । 

विदेशमा रहेका नेपालीको संस्था एनआरएनले नेपालमा भूकम्प, कोभिड–१९ जस्ता विपत्तिको समयमा विभिन्न सहयोग उपलब्ध गराउँदै आएको छ । संस्थाले नेपालमा कोरोना भाइरसका सङ्क्रमितको उपचार व्यवस्थापनका लागि प्रयोगमा आउने अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्टेटरलगायत सामग्रीको सहयोग गरेको जनाइएको छ । रासस