१४ बैशाख, २०८१ शुक्रबार

07:43:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

घरजग्गामा लगानी नगर्न सहकारीलाई विभागको निर्देशन

३ भदौ, २०७९

घरजग्गामा लगानी नगर्न सहकारीलाई विभागको निर्देशन

काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरूलाई घरजग्गाजस्ता स्थिर सम्पत्तिमा लगानी नगर्न निर्देशन दिएको छ । विभागले सुचना जारी गर्दै सहकारीलाई स्थिर सम्पतिमा लगानी नगर्ने निर्देशन दिएको हो ।

त्यस्तै, विभागले लामो अवधिको क्षेत्रमा समेत कर्जा प्रवाह नगर्न निर्देशन दिएको हो । विभागले कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने स–साना व्यवसायमा लगानी गर्न सुझाव दिएको छ । त्यस्तै, दीर्घकालीन स्रोत सुनिश्चित नगरी कर्जा लगानी नगर्नसमेत सुझाएको छ ।

ऋण असुली प्रक्रियालाई प्राथमिकता दिई कार्ययोजना बनाएर कार्यान्वयन गर्ने विभागले आग्रह गरेको छ । संस्थाको तर्फबाट कर्जा प्रवाहलगायतको कार्य गर्दा सञ्चालक समितिको बैठकको निर्णयबाट मात्रै गर्ने, एकल निर्णय गरेको अवस्थामा जिम्मेवारी र जवाफदेहिता स्वयं निर्णयकर्ताको नै हुनुपर्नेछ ।

 विभागले घाटामा संचालन भइरहेका सहकारी संस्थालाई सेयर लाभांश तथा कर्मचारीलाई बोनस दिन रोक लगाएको छ । सहकारी नाफामा नगएसम्म संचालकहरूको सुविधा कटौती गर्ने, प्रशासनिक खर्च घटाउने, घाटामा चलेका शाखा वा सेवा केन्द्रहरू बन्द गर्न निर्देशन दिएको छ ।

विभागले सहकारी संस्थाहरूलाई ऐन–नियमअनुसार काम गर्न र सहकारी महासंघ तथा राष्ट्रिय सहकारी बैंकलाई पनि आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ ।

त्यस्तै, प्रत्येक सहकारी संघ–संस्थाले एक हप्ताभित्रमा सेयर पुँजी, जगेडा कोष, कुल सम्पत्ति, कुल बचत, लगानीमा रहेको कर्जा, कुल सेयर सदस्य संस्था, कुल ऋणी सदस्य, तरलता रकम र प्रतिशत, कुल संस्थागत पुँजी र विभिन्न कोषहरूको जम्मा रकम संस्थाका सेयर सदस्यलाई सार्वजनिक सूचनामार्फत जानकारी दिनसमेत विभागले निर्देशन दिएको छ । साथै, आगामी दिनमा मासिक रूपमा सो जानकारी सार्वजनिक रूपमा सूचना निकाली जानकारी गराउन निर्देशन दिएको छ ।