८ जेठ, २०८१ मंगलबार

05:55:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बजेट खर्चको अवस्था सुधार हुँदै, राजस्व संकलन पनि सन्तोषजनक

३ माघ, २०७८

बजेट खर्चको अवस्था सुधार हुँदै, राजस्व संकलन पनि सन्तोषजनक

काठमाण्डौं

सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्याङ्क हेर्दा आम्दानी तर्फ क्रमशः धनात्मक अवस्था देखिएको छ । सोही अवधिको समग्र खर्चमा भने उतार चढाव देखिएको छ ।  आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म राजश्व संकलन कुल लक्ष्यको ३८ दशमलव ९५  प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा ४१.७३ प्रतिशत रहेको थियो ।

यस्तै चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म ४५.९१ प्रतिशत राजश्व संकलन भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१८ प्रतिशतले बढी हो ।      
अर्ध वार्षिक खर्चतर्फ भने पछिल्लो तीन आर्थिक वर्षको अवस्था हाराहारीमा रहेको छ ।  

आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म पुँजीगत खर्च १४.८९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा १४.४० भएको थियो । यस्तै चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म पुँजीगत खर्च १३.४४ प्रतिशत भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९६ प्रतिशत कम हो । प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछि मात्र बजेट कार्यान्वयनमा आएको कारणले पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको हो ।    

समीक्षा अवधिको चालु र वित्तीय खर्चमा भने केही उतारचढाव देखिएको छ ।  आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म चालु खर्च ३२.३५ प्रतिशत भएको थियो भने वित्तीय खर्च २२.४४ रहेको थियो । आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा चालु खर्च ३६.०८ रहेकोमा वित्तीय खर्च १३.०६ भएको थियो । 

यस्तै चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म चालु खर्च ३८.१३ प्रतिशत रहेकोमा वित्तीय खर्च २६.१२ प्रतिशत रहेको छ । वित्तीय खर्च अघिल्लो वर्षको तुलनामा करिब दोब्बर बढी भएको देखिएको छ ।