९ मंसिर, २०८१ आइतबार

08:29:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साउनको ३ सातामा बैंकिङ प्रणालीमा घट्यो १ खर्ब १६ अर्ब निक्षेप

२५ साउन, २०७९

साउनको ३ सातामा बैंकिङ प्रणालीमा घट्यो १ खर्ब १६ अर्ब निक्षेप

काठमाडौं । साउन लागेपछि बैंकिङ प्रणालीमा अस्वाभाविकरुपमा निक्षेप घट्न थालेको छ । साउन लागेपछिको ३ सातामा बैंकिङ प्रणालीबाट १ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप घटेको छ ।

राष्ट्र बैंकका अनुसार गत असार ३२ गते बैंकिङ प्रणालीमा ५१ खर्ब ५३ अर्ब १० करोड रुपैयाँ निक्षेप रहेको थियो । साउन २३ गतेसम्म आइपुग्दा बैंकिङ प्रणालीमा निक्षेप १ खर्ब १६ अर्ब रुपैयाँले घटेर ५० खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ ।

असार ३२ गते ४७ खर्ब ४० करोड रुपैयाँ रहेको कर्जा साउन २३ गतेसम्म आइपुग्दा करीब ८ अर्ब रुपैयाँले घटेर ४६ खर्ब ९२ अर्ब रुपैयाँमा सीमित रहेको छ । कर्जाको तुलनामा निक्षेप करिब १० गुणाले घटेकाले बैंकहरु झन् ठूलो तरलता (लगानी योग्य पुँजी) को अभावमा पर्न थालेका छन् । औषतमा बैंकिङ प्रणालीको सीडी रेसियो ८७.८६ प्रतिशत पुगेको छ । राष्ट्र बैंकको नियमअनुसार यस्तो रेसियो ९० प्रतिशतभन्दा कम हुनुपर्छ ।

गत आर्थिक वर्षको साउन महिनाभरीमा बैंकिङ प्रणालीबाट ७२ अर्ब रुपैयाँ निक्षेप घटेको थियो । असार मसान्तसम्म वाणिज्य बैंकले ४५ खर्ब ३९ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । साउन २३ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब १ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ३८ अर्ब रुपैयाँमा पुगेको छ ।

यस अवधिमा कर्जा भने ३ अर्ब रुपैयाँले मात्रै घटेको छ । असार मसान्तमा वाणिज्य बैंकहरुले ४१ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए भने साउन २३ गते ४१ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा रहेको छ ।

गत असार मसान्तमा विकास बैंक र वित्त कम्पनीको निक्षेप ६ खर्ब १३ अर्ब रुपैयाँ थियो । साउन २३ गतेसम्म आइपुग्दा १४ अर्ब रुपैयाँले घटेर ५ खर्ब ९९ अर्ब रुपैयाँमा झरेको छ ।

असार मसान्तमा ४ खर्ब ९० अर्ब ९५ करोड रुपैयाँ रहेको कर्जा साउन २३ गतेसम्म आइपुग्दा २१ अर्ब ७५ करोड रुपैयाँले घटेर ४ खर्ब ६९ अर्ब २० करोड रुपैयाँमा झरेको छ ।