१३ मंसिर, २०८१ बिहिबार
04:04:47 AM
२४ साउन, २०७९
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफैंले जारी गरेको ट्रेजरी बिल आफैले खरिद गरेको छ । राष्ट्र बैंकले हिजो (साउन २३ गते सोमबार) ९१ दिने ७ अर्ब १० करोड रुपैयाँँको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल गरेको थियो।
उक्त ट्रेजरी बिल खरिदको लागि २७ बैंक तथा वित्तीय संस्थाले १९ अर्ब ८१ करोडको लागि बोलकबोल पेश गरेका थिए । तर, राष्ट्र बैंकले जम्मा ५९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बैंकहरुलाई दिएर ६ अर्ब ५१ करोड रुपैयाँ बराबरको आफैंले खरिद गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बोलकबोलमा उच्च ब्याजदर माग गरेपछि राष्ट्र बैंक आफैँले ट्रेजरी बिल खरिद गरेको हो । राष्ट्र बैंकले सोमबारको ट्रेजरी बिलको डिस्काउन्ट रेट न्यूनतम १०.४७४९ प्रतिशत र अधिकतम १०.५०९० तथा औसत १०.४७७९ प्रतिशतमा स्वीकार गरेको छ ।
यसअघि राष्ट्र बैंकले साउन १७ गते ९१ दिने अवधिको ५ अर्ब १० को ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याएको थियो । सो समयमा पनि राष्ट्र बैंकले १२ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बैंकहरुलाई दिएर ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल राष्ट्र बैंक आफैंले खरिद गरेको थियो । सोही दिन १८२ दिन अवधिको ५ अर्बको ट्रेजरी विल नविकरणको लागि बोलकबोलमा ल्याएकोमा १० करोड मात्रै बैंकहरुलाई दिएर ४ अर्ब ९० करोड राष्ट्र बैंकले नै खरिद गरेको थियो । ब्याजदर बढ्न नदिन राष्ट्र बैकले आफैँले ट्रेजरी बिल खरिद गरिएको जनाइएको छ ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।