९ मंसिर, २०८१ आइतबार
10:40:22 AM
२४ साउन, २०७९
काठमाडौं । वाणिज्य बैंकहरूको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात घटेको छ । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात सात वर्षयताकै कम देखिएको हो ।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात १.१५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७६। ७७ मा वाणिज्य बैंकहरूको यस्तो कर्जा अनुपात १.२५ प्रतिशत रहेको थियो ।
सन् २०२० मा अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले कर्जा नवीकरणको गलत अभ्यासले जोखिम बढाइरहेको निष्कर्ष निकालेको थियो । विश्व बैंकको तथ्यांकअनुसार सात वर्षअघि मात्रै निष्क्रिय कर्जाको अनुपात १.७ प्रतिशत थियो । आइएमएफकै तथ्यलाई आधार लिने हो भने त्यसअघि यस्तो अनुपात २ प्रतिशतभन्दा बढी नै देखिन्छ ।
गत आर्थिक वर्षमा बैंकहरूको खुद नाफा ७४ अर्ब ८० करोड रुपैयाँ र वितरणयोग्य नाफा ५९ अर्ब ३२ करोड रुपैयाँ रहेको छ। गत आर्थिक बर्षसम्म बैंकहरूको कुल कर्जा ४१ खर्ब ७५ अर्ब रहेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ ।
बैंकहरुको आर्थिक वर्ष २०७१।७२ मा कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात १.६८ प्रतिशत रहेको थियो त्यस्तै, आर्थिक वर्ष ०७२।७३ मा १.७० प्रतिशत, आर्थिक वर्ष २०७३।७४ मा १.५६ प्रतिशत, आर्थिक वर्ष २०७४।७५ मा १.६६ प्रतिशत र आर्थिक वर्ष २०७५। ७६ मा १.६८ प्रतिशत रहेको थियो ।