६ जेठ, २०८१ आइतबार

12:35:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नारायणगढ–मुग्लिन/मुग्लिन–पोखरा सडक खण्डको कामलाई तीव्र बनाउन सरकारलाई समितिको निर्देशन

Nepal Business

२३ साउन, २०७९

नारायणगढ–मुग्लिन/मुग्लिन–पोखरा सडक खण्डको कामलाई तीव्र बनाउन सरकारलाई समितिको निर्देशन

काठमाण्डौं । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणगढ–मुग्लिन÷मुग्लिन– पोखरा सडक खण्डको स्तरोन्नतिको कामलाई तीव्र बनाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले राष्ट्रिय गौरव लगाएत अन्य राष्ट्रिय स्तरका सडकहरुको निर्माण तथा स्तरोन्नतिको कार्यमा भइरहेको ढिलासुस्ती तथा न्युन प्रगतिलाई ध्यानमा राखि उक्त सडकखण्ड स्तरोन्नतिको कामलाई तीव्र बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले सडक अतिक्रमण गरि विना स्वीकृति बनाइएका घर तथा सडकमा रहेका विधुत पोलका कारण सडकमा पहिरो झर्दा तत्काल पन्छाउन जटिल देखिएकाले सडक सीमाभित्र रहेका संरक्षा हटाउने आवश्यक व्यवस्था मिलाउन भौतिक पूर्वाधार मन्त्रालय र उर्जा मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले वातावरण मैत्री, प्रविधिमैत्री र गुणस्तरिय निर्माणका लागि विकासको उपयुक्त मोडल अवलम्वन गर्ने कार्य तत्काल अध्ययन गरि कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको उहाले बताउनुभयो ।

त्यस्तै बैठकले पेट्रोलियम पदार्थको मूल्य समायोजनपछि पनि मनोमानी ढंगले सार्वजनिक यातायातले भाडा असुल्ने काम गरेको भन्दै भरपर्दो अनुगमन समिति बनाएर जानकारी गराउन निर्देशन दिएको सभापति खड्काले जानकारी दिनुभयो ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले बैकल्पीक साहायक राजमार्गको मापदण्ड नै बनाएर कार्यान्वयन गर्ने बताउनुभयो ।

नारायणघाट–बुटवल सडक निर्माण समयमा नै नभएको भन्दै ठेकेदारको म्याद थप नगरेको उहाँले जानकारी दिनुभयो । उहाँले नारायणगढ–मुग्लिन÷मुग्लिन– पोखरा सडक स्तरोन्नतिको कामलाई तीव्र रुपमा अघि बढाइने जिकिर गर्नुभयो ।

बैठकमा समिति सदस्यहरुले चाडपर्व नजिकिदै जादा मुख्य तथा सहायक राजमार्गहरुलाई चुस्तदुरुस्त राख्नका लागि सडकको प्रभावकारी अनुगमनमार्फत आवश्यक तयारी समयमा नै गर्नुपर्ने धारणा राखेका थिए ।