९ मंसिर, २०८१ आइतबार

10:34:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विभिन्न वाणिज्य बैंकहरुको एक वर्षमा वित्तीय विवरण सार्वजनिक, कस्को प्रगति कति ?

Nepal Business

२० साउन, २०७९

विभिन्न वाणिज्य बैंकहरुको एक वर्षमा वित्तीय विवरण सार्वजनिक, कस्को प्रगति कति ?

काठमाडौं । विभिन्न वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । गत आर्थिक वर्षको अन्तिम वित्तीय विवरण सार्वजनिक गर्नेमा एनआईसी एसिया, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य, नबिल बैंक, एनएमबी, सिटिजन्स बैंक, प्रभु, लक्ष्मी, सनराइज, एनएमबी, सिद्धार्थ, कृषि विकास, स्ट्टाण्डर्ड चार्टर्ड, सानिमा, माछापुच्छ्रे, एभरेष्ट, हिमालयन, कुमारी, एसबिआई, प्राइम कमर्शियल बैंक र एनसीसी बैंक रहेका छन् । 

यी २१ वणिज्य बैंकले आफ्नो गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरेका छन् । 

एक वर्षको अवधिमा कस्को प्रगति कति ? 

एनआईसी एशिया बैंक 

गत आर्थिक वर्ष २०७९/७९ मा एनआईसी एशिया बैंक लिमिटेडले ४ अर्ब ५२ करोडभन्दा बढी खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ३८.८६ प्रतिशत बढी भएको हो ।

अघिल्लो वर्ष चौथो त्रैमाससम्म बैंकले ३ अर्ब २५ करोडभन्दा बढी खुद नाफा गरेको थियो ।

सञ्चालन नाफा अघिल्लो वर्ष ४ अर्ब ७९ करोडभन्दा बढी भएकोमा गत वर्ष ६ अर्ब ४० करोडभन्दा बढी रहेको छ । गत चौथो त्रैमाससम्म बैंकको वितरण योग्य नाफा २ अर्ब २४ करोडभन्दा बढी रहेको छ।

ग्लोबल आइएमई बैंक

एक वर्षमा ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्ब २० करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ ।  गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफा २५ प्रतिशत बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिसम्म बैंकले ४ अर्ब १६ करोडभन्दा बढी खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको सञ्चालन नाफा करिब २७ प्रतिशत बढेको छ ।

अघिल्लो वर्ष ५ अर्ब ९५ करोडभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले गत वर्ष ७ अर्ब ५६ करोडभन्दा बढी यो नाफा गरेको हो । गत वर्षको चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब १९ करोडभन्दा बढी रहेको छ । 

नेपाल इन्भेष्टमेण्ट बैंक 

एक वर्षमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ४ अर्ब ८ करोडभन्दा बढी खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गत वर्ष १४.८३ प्रतिशत बढी हो । 
अघिल्लो वर्ष सो अवधिसम्म बैंकको खुद नाफा ३ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी मात्र थियो । चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने २ अर्ब ३ करोड ८३ लाख रुपैयाँभन्दा बढी रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड

गत आर्थिक वर्ष २०७८।७९ मा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खुद नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा ३७.३८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिसम्म बैंकले ५ अर्ब २१ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चौथो त्रैमाससम्म बैंकको खुद व्याज आम्दानी १७.२९ प्रतिशतले बढेर ९ अर्ब ६६ करोड ९२ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ८ अर्ब २४ करोड ३९ लाख रूपैयाँ रहेको थियो ।

यो अवधिसम्म  बैंकको सञ्चालन मुनाफा ३७.६७ प्रतिशतले बढेर ७ अर्ब १ करोड ८४ लाख २ हजार रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ५ अर्ब ९ करोड ८१ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३ करोड २३ लाख रुपैयाँ रहेको छ जुन गत बर्षको तुलनामा ३२.९५ प्रतिशतले कम हो ।

नबिल बैंक

एक वर्षको अवधिमा नबिल बैंकले ४ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा बैंकको खुद नाफा ९.८३ प्रतिशत बढी भएको हो ।

अघिल्लो वर्ष सो अवधिसम्म बैंकले ४ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने ९ अर्ब १२ करोड रुपैयाँभन्दा बढी रहेको छ ।

एनएमबी बैंक
गत आर्थिक वर्षमा एनएमबि बैंक लिमिटेडले ३ अर्ब ७० करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा बैंकको नाफा ३६.५३ प्रतिशत बढी भएको हो ।

अघिल्लो वर्ष सो अवधिसम्म बैंकले २ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको थियो । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ३९ करोडभन्दा बढी रहेको छ ।
सिटिजन्स बैंक

एक वर्षको अवधिमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले २ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.७६ प्रतिशत बढी हो।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा यस बैंकले १ अर्ब ८० करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ रहेको छ।

प्रभु बैंक

प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस बैंकको खुद ब्याज आम्दानी २३.०३ प्रतिशत, खुद फि तथा कमिसन आम्दानी २६.७६ प्रतिशत बढेको छ ।

यस्तै, यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १८.३६ प्रतिशत र सञ्चालन मुनाफा ४७.७५ प्रतिशत बढेको छ । 

लक्ष्मी बैंक 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लक्ष्मी बैंक लिमिटेडले १ अर्ब ६० करोड ३५ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७६ प्रतिशत बढी हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २५ करोड ५२ लाख रुपैयाँ रहेको छ।

सनराइज बैंक 

सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब १५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.६९ प्रतिशत बढी हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा २५ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

सिद्धार्थ बैंक

गत आथिर्क वर्षमा सिद्धार्थ बैंकले ३ अर्ब २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.७८ प्रतिशत बढी हो । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब १० करोड ६८ लाख रुपैयाँ रहेको छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले गत आर्थिक वर्षमा खुद नाफा घटेको छ । अघिल्लो वर्ष ३ अर्ब ५२ करोडभन्दा बढी खुद नाफा गरेको बैंकले गत वर्ष भने २ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको हो ।

गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने  ३ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रहेको छ ।

स्ट्टाण्डर्ड चार्टर्ड बैंक

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब २६ करोड ९८ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ६२.२७ प्रतिशत बढी हो ।

अघिल्लो वर्ष बैंकले १ अर्ब ३९ करोड ८८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी रहेको छ ।

सानिमा बैंक

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सानिमा बैंक लिमिटेडले २ अर्ब २९ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.०७ प्रतिशत कम हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ३१ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४६ करोड ९९ लाख रुपैयाँ रहेको छ।

माछापुच्छ्रे बैंक 

एक वर्षको अवधिमा माछापुच्छ्रे बैंकले ३४.४३ प्रतिशतले नाफा बढाएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब १६ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको हो । 

अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३२ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

एभरेष्ट बैंक

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८९ करोड ५४ लाख रूपैयाँभन्दा बढी रहेको छ । बैंकले गत चौथो त्रैमाससम्म २ अर्ब ५४ करोड ६० लाख रूपैयाँ भन्दा बढी खुद नाफा गरेको छ । 

अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ४३ दशमलव ७७ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष सो अवधिसम्म बैंकले १ अर्ब ७७ करोड ९ लाख रूपैयाँ भन्दा बढी खुद नाफा गरेको थियो ।

हिमालयन बैंक

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म हिमालयन बैंक लिमिटेडले २ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा बैंकको खुद नाफा १७.२२ प्रतिशत कम भएको हो ।

अघिल्लो वर्ष सो अवधिसम्म बैंकले २ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी रहेको छ । 

कुमारी बैंक

एक वर्षमा कुमारी बैंकको नाफा ४३.८७ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको हो । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा  क्रमश २५.६७ प्रतिशत र ४.४७ प्रतिशतले बढाएर नाफा बढ्न पुगेको हो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ रहेको छ । 

एसबिआई बैंक 

नेपाल एसबिआई बैंक लिमिटेडले १ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.०४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको

सोही अवधिसम्ममा बैंकले ९६ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.०४ प्रतिशत बढी हो। 

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९६ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

प्राइम कमर्शियल बैंक

एक वर्षमा प्राइम कमर्सियल बैंक लिमिटेडको नाफा १२.६३ प्रतिशतले बढाएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नाफामा ३ अर्ब ६८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी  बैंकले ३ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ रहेको छ । 

नेपाल क्रेडिट एण्ड कमर्स बैंक 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले २ अर्ब २ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशत बढि हो ।

अघिल्लो वर्षको सोही अवधिसम्म बैंकले १ अर्ब ३३ करोडभन्दा बढी खुद नाफा गरेको थियो। गत वर्षको चौंथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी छ ।