१० मंसिर, २०८१ सोमबार
07:46:30 AM
१९ साउन, २०७९
लहान । बैंक तथा वित्तीय संस्थाहरूले कृषिजन्य उद्योगमा ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गराउने क्रम बढेको छ । ती संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेको र ‘लोडसेडिङ’ले समेत खासै असर नपर्ने भएपछि जिल्लामा त्यस्ता उद्योग दर्ता गराउने क्रम बढेको हो ।
आर्थिक वर्ष २०७८।७९ मा १ हजार आठ सय ६५ नयाँ उद्योग दर्ता हुदाँ त्यसमा १ हजार २४३ कृषिजन्य उद्योग रहेको घरेलु तथा साना उद्योग कार्यालय लहानले जनाएको छ । दर्ता भएको नयाँ कृषिजन्य उद्योगमा कृषि, पशुपक्षी र माछापालनसम्बन्धी एक हजार एक सय २०, पशुपालनसम्बन्धी ७१, माछापालनसम्बन्धी १२, दुग्धजन्य उद्योग १४ वटा दर्ता भएका थिए ।
यस्तै आव २०७८।७९ मा सेवामूलक उद्योग चार सय ७७, उत्पादनमूलक उद्योग एक सय ४५ वटा दर्ता भएका छन् । योसँगै सिरहामा कृषि तथा वनजन्य उद्योग चार हजार १३, उत्पादन उद्योग एक हजार सात सय ५७ र सेवा उद्योग चार हजार सात १५ गरी घरेलु तथा साना उद्योगको सङ्ख्या १० हजार तीन सय १५ पुगेको छ ।
यस्तै आव २०७८र७९ मा नयाँ उद्योग र वाणिज्यतर्फ दर्ताबाट रु एक करोड ८१ लाख ३३ हजार दुई सय ९८ राजस्व सङ्कलन भएको जनाएको छ । गत आव २०७७÷७८ मा एक हजार नौ सय १३ नयाँ उद्योग दर्ता भएको थियो । अघिल्लो आव २०७७र७८ मा पनि सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार एक सय २२, सेवा उद्योगतर्फ छ सय पाँच र उत्पादन उद्योगतर्फ एक सय ८६ उद्योग दर्ता भएको थियो ।
अघिल्लो आव २०७७।७८ मा कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा कृषि उद्योग एक हजार १८, पशुपालनका ५४ तथा कुखुरापालनका १७ वटा नयाँ उद्योग दर्ता भएको सो कार्यालयले जनाएको छ ।