९ मंसिर, २०८१ आइतबार
07:25:42 AM
१३ साउन, २०७९
काठमाडौँ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एन आई सी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवाको शुभारम्भ गरेको छ ।
यस नवीन सेवा मार्फत अब ग्राहकहरूले सहज रुपमा यस बैंकमा रहेको आफ्नो वा अन्यको खातामा नगद रकम जम्मा गर्न सकिने बैंकले शुक्रबार एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहकहरूले केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ । उक्त मेसिनबाट १,००० र ५०० दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ ।
उक्त मेसिनबाट एक जना ग्राहकको खातामा एक पटकमा अधिकतम ९९,५०० गरी दैनिक अधिकतम ९,९९,५०० सम्म नगद जम्मा गर्न सकिने व्यवस्था रहेको छ ।
सहज एवं सरल बैंकिङ्गलाई अंगाल्दै आएको बैंकको यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि सेवाग्राहीले उक्त मेसिनमा रकम जम्म गर्न इच्छाएको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा ओ टि पी प्राप्त हुन्छ र उक्त ओ टि पी मेसिनमा उल्लेख गरेर भेरिफाइ भएपछि रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुनेछ ।
उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा जम्मा गरिदिने र त्यसको जानकारी समेत एसएमएस तथा रिसिप्ट मार्फत उपलब्ध हुने बैंकले जनाएको छ ।
बैंकले यो सेवा हालको लागि न्यूरोड बिशालबजार शाखामा सञ्चालन गरेको छ । यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाइरहेको हुँदा नगद जम्मा गर्नकै लागि भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहक महानुभावहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ । साथै, यस बैंकले दैनिक रुपमा रकम झिक्न र बचत गर्न सकिने क्यास रिचार्ज मेसिनबाट समेत सेवा सुचारु गरिसकेको छ ।