८ मंसिर, २०८१ शनिबार
07:26:21 AM
३० पुस, २०७८
काठमाण्डौ ।
सरकारले सुनचाँदीको जर्ती सम्बन्धि कार्यविधि परिमार्जन गर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले जर्तीसम्बन्धी कार्यविधि परिमार्जन गर्न मन्त्रालयका सुरक्षा समन्वय महाशाखाका प्रमुख मुकुन्द निरौलालाई निर्देशन दिनुभएको छ । मन्त्री खाणले भन्नुभयो, “समय र परिस्थितिअनुसार विभिन्न समयमा बनेका कानुन परिमार्जन गर्दै समयसापेक्ष बनाउनुपर्ने छ । व्यवसायीहरुको सम्बोधनमा म सहजीकरण गरुला ।” अप्ठेरोमा परेको बेला सुन काम लाग्ने बताउँदै महामारीमा झन यसको महत्व हुने उहाँले बताउँनु भयो ।
अहिले सुन दैनिक २० केजी आयात हुने गरेको छ । तर माग भने ३० केजी भन्दा बढी रहेको छ । सिजनमा भने यसको माग ४० केजी भन्दा बढी रहेको छ ।
मन्त्री खाँणले व्यवसायीलाई मन्त्रालयमै बोलाएर सुनचाँदी व्यवसायमा भएको समस्या राख्न भन्नु भएको थियो । त्यसमा व्यवसायीले ऐन तथा कानुनको आवश्यकता औल्यएका थिए ।
यस्तै सरकारले माग अनुसारको सुनको आयातमा कोटा बढाइदिनु पर्ने तर कर जति लिएपनि आफुहरुलाई समस्या नहुँने व्यवसायीहरुको भनाइ छ । सुनचाँदीसम्बन्धी ऐन बनाउनुपर्ने तथा ज्याला तथा जर्ती बढाउनुपर्ने माग व्यवसायीहरुको छ ।
आयातको कोटा कम गर्दा सुनको तस्करी बढेको र आपराधिक गतिविधि मौलाएको उनीहरुको भनाइ छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले माग र आपुर्ति वीचको गहिरो खाडलले अवैध सुन आयात बढेको जनाएको छ । महासंघका अध्यक्ष मानिकरत्न शाक्यले २०६६ सालदेखि दैनिक १० किलोका दरले कोटा प्राणली लागु भएको भएपनि अहिले सम्म आइपुग्दा २० केजी मात्र कोटा हुनु उचित नभएको बताउँनु भयो । उहाँले भन्नु भयो, “नेपालको जनसंख्या र बढ्दो सहरीकरण, अर्थतन्त्रको विकासका कारणले पनि अहिलेको कोटा पर्याप्त छैन, अहिलेको माग ३० केजी हो । यहि वीचको १० केजीको ग्यापमा तस्करीहरुले खेलिरहेका छन् ।
देशभर हाल २५ हजार भन्दा बढी सुनचाँदी व्यवसायी छन भने यस क्षेत्रबाट करिब २ लाख जनाले प्रत्यक्ष रोजगारी पाइरहेको तथ्यांक छ । सरकारले पनि बार्षिक १० अर्बको हारहारीमा यस क्षेत्रबाट राजस्व संकलन गर्दै आएको व्यवसायहीहरुले बताउँदै आएका छन् । अहिले सुन दैनिक २० केजी आयात हुने गरेको छ । तर माग भने ३० केजी भन्दा बढी रहेको छ । सिजनमा भने यसको माग ४० केजी भन्दा बढी रहेको छ ।
गहना बनाउने क्रममा अदृश्य रुपमा ह्रास हुने तौल भनेको जर्ती हो । नेपालमा गरगहना हातले बनाइन्छ । त्यसक्रममा सुनका ससाना टुक्रा वा धूलो गाल्दै बुट्टाहरु तयार गर्दै ती जोडेर गहना तयार पार्दा अदृश्य नोक्सानी भई सामानको तौल केही घट्छ । त्यसैलाई जर्ती (म्यानुफ्याक्चरिङ लस) भनिन्छ । अहिले १० प्रतिशतसम्म जर्ती राख्न पाउने प्रावधान छ ।