९ मंसिर, २०८१ आइतबार
06:50:51 AM
१० साउन, २०७९
काठमाडौं । मौद्रिक नीतिपछि बैक तथा वित्तीय संस्थाहरूलाई ब्याजदर बढाउन दबाब परेको छ । यसअघिको ब्याजदर करिडोरमा राष्ट्र बैंकले समान १.५ प्रतिशतले वृद्धि गरेसँगै बैंकहरुमा ब्याजदर वृद्धिको तीव्र दबाब परेको हो ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन ७ गतेसम्म अन्तरबैंक ब्याजदर ७ प्रतिशत थियो। साउन ८ गते अन्तरबैंक ब्याजदर बढेर ८.४५ पुगेको छ।
राष्ट्र बैंकले मौद्रिक नीति मार्फत अनिवार्य नगद अनुपात (सीआरआर) ४ प्रतिशत र वैधानिक तरलता सुविधा (एसएलएफ) को दर वृद्धि गर्दै वाणिज्य बैंकहरुका लागि १२ प्रतिशत र विकास बैंकहरु तथा अन्य वित्तीय कम्पनीहरूका लागि १० प्रतिशत पुर्याएपछि बैंकहरु अप्ठेरोमा परेका हुन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंकदर बढाउने निर्णय गरेको थियो ।
त्यसैको फलस्वरूप ट्रेजरी बिलको ब्याजदर बढेको हो । राष्ट्र बैंकले साउन १० गते जारी गरेको २८ दिने र ९१ दिने कुल १५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलमा बैंकहरूले अधिकतम १२.२४ प्रतिशतदेखि १३.९९ प्रतिशतसम्म ब्याजदर माग गरेका छन् ।
यो हिसावले हेर्दा बैंकहरुले राष्ट्र बैंकसँग नै कारोबार गर्न चाहेको देखिन्छ । ट्रेजरी बिलको ब्याजदर बढ्नुले आगामी दिनमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर पनि बढ्न सक्ने जानकारहरुले बताएका छन् ।