८ मंसिर, २०८१ शनिबार
07:08:01 PM
१० साउन, २०७९
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा डेढ सयभन्दा बढी रोजगार दाता सामाजिक सुरक्षा कोषमा जोडिएका छन् । आर्थिक वर्षको चौथो त्रैमाससम्म सामाजिक सुरक्षा कोषमा १५६ रोजगारदाता जोडिएका हुन् । कोषले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म रोजगारदाताको संख्या १७ हजार १९२ पुगेको छ ।
यस्तै गत आवमा सामाजिक सुरक्षा कोषमा १८ हजार ९८५ योगदानकर्ता थपिएका छन् । यससँगै कोषमा योगदानकर्ताको संख्या ३ लाख ४६ हजार ७४४ पुगेको छ । हालसम्म कोषमा २१ अर्ब ८ करोड ५२ लाख रुपैयाँ योगदान रकम संकलन भएको छ ।
हालसम्म १ अर्ब रुपैयाँभन्दा बढी दावी भुक्तानी गरेको कोषले जनाएको छ । भुक्तानी भएको रकममध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २३ करोड ६ लाख रुपैयाँ दावी भुक्तानी भएको छ । जसमा दावी संख्या २१ हजार २९७ रहेको थियो ।
यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा भएको ८४७ दावी संख्या २ करोड ३० लाख रुपैयाँ भुक्तानी भएको छ । आश्रित परिवार सुरक्षा योजनामा ३ हजार ७५२ को दावी परेको थियो । जसमा ३ करोड ७३ लाख रुपैयाँ भुक्तानी भएको छ ।
कोषका अनुसार वृद्ध अवस्था सुरक्षा योजना २१ हजार १५० जनाको दावी परेको थियो जसमा १ अर्ब ३६ करोड ७४ लाख रुपैयाँ दावी भुक्तानी भएको छ ।