५ जेठ, २०८१ शनिबार

08:04:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

५ महिनामा ८३ करोड ८२ लाख भन्दा बढीको सख्खर आयात

२९ पुस, २०७८

५ महिनामा ८३ करोड ८२ लाख भन्दा बढीको सख्खर आयात

काठमाण्डौं

माघे संक्रान्तिलाई नेपालका अधिकांश जाति समुदायले आ–आफ्नो संस्कृति र परम्परा अनुसार मनाउछन् । हिन्दू, बुद्धमार्गी, किराँत तथा थारु समुदायले माघ १ गतेलाई संक्रान्तिका रुपमा मनाउँदै आएका छन् । थारु समुदायले यस पर्वलाई माघीका रुपमा समेत मनाउने गर्छन् भने हिन्दु समुदायले माघे सक्रान्ति तथा मकर संक्रान्तिका रुपमा मनाउने गर्छन् ।

त्यस्तै मगर समुदायले माघे सकराती भनेर मनाउने गरेका छन् । खिचरा पर्वका रुपमा मनाउने यो दिनलाई राई समुदायले येले थेचे र सुनुवार समुदायले सामी पिदार पर्वका रुपमा मनाउने गर्छन् ।

यस पर्वमा विभिन्न समुदायको फरक तौर तरिका, खानपिन हुन्छ । थारु समुदायमा माघीका दिन माछा, सुँगुरको मासु, मुसाको मासु, घोंगी, ढिक्री, जाँड, रक्सि खाने गर्छन् ।

यस्तै किराँती समुदायमा आफ्नो परम्परागत भेषभुषामा सजिएर आफन्तकहाँ जाने, धान नाच र च्याबु्रङ नाच्ने तथा मान्यजनका हातबाट बनतरुल पोलेर टिका ग्रहण गर्ने परम्परा रहेको छ ।

यसैगरी हिन्दु समुदायमा पनि माघ १ गतेका दिन बिहानै नुहाधुवाई गरी पूजापाठ गरेर मान्यजनबाट टिका थाप्ने तथा आर्शिवाद लिने चलन छ । साथै यस दिन घ्यु, मासको दाल र चामल मिसाएर खिचडी बनाएर खाने चलन छ भने घ्यु र चाकु पनि खाने चलन छ ।

यति मात्र होइन, सखरखण्ड, तरुल र पिँडालु, चाकु, तिलको लड्डु खाने चलन छ । कतिपय  परिकारहरु घरमै उपलब्ध स्रोत साधनबाट बनाइन्छ भने कतिपय कुरा बजारमा खरिद गरिन्छ । बजारबाट खरिद गरिने भित्र चाकु तथा लड्डु पर्छन् । यी परिकारका कच्चा पदार्थ कहाँबाट र कसरी आउँछन् ?

विशेषगरी चाकु । चाकु संख्खरबाट बन्छ । सख्खर भारत, चाइना, अमेरिका, इन्डोनेशिया, बंलादेशबाट आयात गरिने भन्सार विभागले जानकारी दिएको छ । सबैभन्दा धेरै छिमेकी राष्ट्र भारतबाट आयात गरिन्छ । भारतबाट मात्रै चालु आर्थिक वर्षको पाँच महिनामा ८३ करोड ८२ लाख लाख १८ हजार रुपैयाँ बराबरको सख्खर (भेली÷गुड) आयात गरिएको भान्सार विभागको तथ्यांकमा उल्लेख छ। 

भारतगरी चाइना, अमेरिका, इन्डोनेशिया र बंगलादेशबाट गरि ८३ करोड ८२ लाख ६९ हजार रुपैयाँ बराबरको सख्खर आयात भएको भन्सार विभागले जनाएको छ । यस्तै चिनी पाँच महिनामा १८ करोड ७५ लाख २२ हजारको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।