९ मंसिर, २०८१ आइतबार
05:01:30 AM
८ साउन, २०७९
काठमाण्डौं । आर्थिक वर्ष २०७८÷७९ को विभिन्न वाणिज्य बैंकहरुले चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।सो अवधिको हालसम्म अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्नेमा एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक र सानिमा बैंक रहेका छन् ।
नेपाल राष्ट्र बैंकले बिहिबार एकीकृत निर्देशिकामा संसोधन गर्दै साउन २१ भित्र गतवर्षको वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने निर्देशन दिएको थियो । हालसम्म ८ वटा वाणिज्य बैंकहरुले अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
कुन वाणिज्य बैंकको कति नाफा ?
एनआईसी एशिया बैंक
गत आर्थिक वर्ष २०७८÷७९ मा एनआईसी एशिया बैंकले ४ अर्ब ५२ करोडभन्दा बढी खुद नाफा गरेको छ । बैंकले चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै ४ अर्ब ५२ करोडभन्दा बढी खुद नाफा गरेको जानकारी दिएको हो । यो नाफा अघिल्लो वर्षको तुलनामा ३८.८६ प्रतिशत बढी हो ।
अघिल्लो वर्ष चौथो त्रैमाससम्म बैंकले ३ अर्ब २५ करोडभन्दा बढी खुद नाफा गरेको थियो । सञ्चालन नाफा अघिल्लो वर्ष ४ अर्ब ७९ करोडभन्दा बढी भएकोमा गत वर्ष ६ अर्ब ४० करोडभन्दा बढी रहेको छ । गत चौथो त्रैमाससम्म बैंकको वितरण योग्य नाफा २ अर्ब २४ करोडभन्दा बढी रहेको छ ।
ग्लोबल आइएमई बैंक
एक वर्षमा ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्ब २० करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफा २५ प्रतिशत बढेको हो । अघिल्लो वर्षको सोही अवधिसम्म बैंकले ४ अर्ब १६ करोडभन्दा बढी खुद नाफा गरेको थियो ।
अघिल्लो वर्षको तलनामा गत वर्ष बैंकको सञ्चालन नाफा करिब २७ प्रतिशत बढेको छ । अघिल्लो वर्ष ५ अर्ब ९५ करोडभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले गत वर्ष ७ अर्ब ५६ करोडभन्दा बढी यो नाफा गरेको हो । गत वर्षको चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब १९ करोडभन्दा बढी रहेको छ ।
प्रभु बैक
प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ६० करोड ३ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ४८ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
यस्तै बैंकको खुद ब्याज आम्दानी २३.०३ प्रतिशत, खुद फि तथा कमिसन आम्दानी २६.७६ प्रतिशत बढेको छ । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १८.३६ प्रतिशत र सञ्चालन मुनाफा ४७.७५ प्रतिशत बढेको छ ।
लक्ष्मी बैंक
लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७६ प्रतिशत बढी भएको जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २५ करोड ५२ लाख रुपैयाँ रहेको छ।
सनराइज बैंक
सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब १५ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.६९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा २५ करोड ६१ लाख रुपैयाँ रहेको छ ।
सिटिजन्स बैंक
गत आर्थिक वर्षमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले २ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले २ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको हो ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.७६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा यस बैंकले १ अर्ब ८० करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ रहेको छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले नाफा ३४.४३ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब १६ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३२ करोड ८४ लाख रुपैयाँ रहेको छ ।
सानिमा बैंक
सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब २९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.०७ प्रतिशत कम हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ३१ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४६ करोड ९९ लाख रुपैयाँ रहेको छ।