९ मंसिर, २०८१ आइतबार
05:47:46 AM
५ साउन, २०७९
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीति ल्याउन सम्पूर्ण तयारी पूरा भइसकेकोले शुक्रबार सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ ।
राष्ट्र बैंकको अनुसन्धान विभागले तयार गरेको मौद्रिक नीतिको ड्राफ्टलाई राष्ट्र बैंकका उच्च अधिकारीले अन्तिम रुप दिएर बिहीबार अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष बिफ्रिङ गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री देउवाले मौद्रिक नीतिका विषयमा छलफल गर्न राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिव मधु मरासिनीलाई बिहीबार बालुवाटार बोलाउनुभएको छ । राष्ट्र बैंकले तयार गरेको ड्राफ्टलाई प्रधानमन्त्रीले स्वीकृति दिए शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको योजना छ ।
केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ । सोही बमोजिम आर्थिक वर्ष २०७९।८० को लागि मौद्रिक नीति ल्याउन लागेको हो । यस वर्ष राष्ट्र बैंक कसिलो मौद्रिक नीति ल्याउने तयारीमा छ । राष्ट्र बैंकका गभर्नरलगायत उच्च पदाधिकारीले सार्वजनिक रूपमै यस बर्षको मौद्रिक नीति कसिलो ल्याउने संकेत गरिसकेका छन् । सेयर लगानीकर्ताले हटाउन माग गर्दै आएको ४।१२ को नीति संशोधन गर्ने तयारीमा राष्ट्र बैंक रहेको बताइएको छ । सेयर बजारमा नरम नीति लिन प्रधानमन्त्रीले यसअघि नै सुझाव दिइसक्नुभएको छ ।