९ मंसिर, २०८१ आइतबार
05:30:36 AM
४ साउन, २०७९
काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप दुई दिनमै ५९ अर्ब रुपैयाँ घटेको छ । असार मसान्तसम्ममा वाणिज्य बैंकहरुमा ५१ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप थियो । तर चालु आर्थिक वर्षको २ दिनमा बैंक तथा वित्तीय संस्थामा ५० खर्ब ९० अर्ब रुपैयाँ निक्षेप छ ।
यस्तै वाणिज्य बैंकमा ४५ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप थियो । जुन साउन २ गते ४४ खर्ब ८१ अर्बमा झरेको छ । यस्तै असार मसान्तपछि ऋण समेत घटेको छ । असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ऋण दिएका थिए । जसमा वाणिज्य बैंकले मात्र ४१ खर्ब ६८ अर्ब ऋण दिएका थिए । साउन २ मा आइपुग्दा बैंक तथा वित्तीय संस्थाको ऋण ४६ खर्ब ९६ अर्ब तथा वाणिज्य बैंकको ४१
खर्ब ६५ अर्बमा झरेको छ । निक्षेप घटेको कारण असार मसान्तमा ८६.२२ प्रतिशतमा झरेको कर्जा निक्षेप अनुपात ८७.८० प्रतिशतमा पुगेको छ । वाणिज्य बैंकहरुले असार मसान्तमा स्थानीय तहको कोषमा रहेको ८० प्रतिशतको रकमलाई निक्षेपमा गणना गर्न पाउने व्यवस्था थियो ।
यस्तै ऋणपत्रलाई बैंकहरुले पूँजीकोष तथा निक्षेपमा समेत गणना गर्न पाउने सुविधा राष्ट्र बैंकले दिएको थियो । राष्ट्र बैंकले साउन १ देखि लागू हुने गरेर स्थानीय तहको कोषको पैसालाई निक्षेपमा गणना गर्न नपाउने तथा ऋणपत्रलाई निक्षेपको स्रोत वा पूँजीकोष अनुपात एउटामा मात्र देखाउन पाउने व्यवस्था गरेको थियो ।
बैंकरहरुले मौद्रिक नीतिमा स्थानीय तहको कोषको ८० प्रतिशतसम्म रकम गणना गर्न पाउने तथा ऋणपत्रलाई निक्षेप तथा पूँजीकोष दुवैमा गणना गर्न दिन पाउने माग गरेका छन् ।