९ मंसिर, २०८१ आइतबार
03:25:11 AM
३ साउन, २०७९
काठमाडौं । यतिबेला नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको अन्तिम तयारीमा रहेको छ । राष्ट्र बैंकले सोमबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरे पनि यस वर्षको मौद्रिक नीति कहिले आउँछ भन्ने टुंगो अझैसम्म लागेको छैन । केही साता अघि पोखराको एक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले साउनको पहिलो साता नै मौद्रिक नीति सार्वजनिक हुने बताउनुभएको थियो ।
केही पूर्व तयारीको काम र विभागीय मन्त्रीको जिम्मेवारीमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गर्ने काम बाँकी रहेका कारण मौद्रिक नीति आउन केही दिन ढिलो हुने भएको जनाइएको छ ।
केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ । सोही बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि मौद्रिक नीति ल्याउन लागेको हो ।
अर्थतन्त्रका कतिपय महत्वपूर्ण सूचकहरुमा दवाब परिरहेको बेला अहिले सबैमा आगामी आर्थिक वर्षको मौद्रिक नीति कस्तो आउला भन्ने चासोको बिषय बनेको छ ।
सरकारले बजेटमार्फत लिएको ८ प्रतिशत जीडीपी ग्रोथको लक्ष्य र ७ प्रतिशतभित्र मुद्रास्फिति राख्ने लक्ष्यलाई सपोर्ट गर्ने किसिमको मौद्रिक नीतिको अपेक्षा गरिएको बेला गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति कसिलो ल्याउने संकेत गर्दै आउनुभएको छ ।
अघिल्ला दुई आर्थिक वर्षमा राष्ट्र बैंकले तुलनात्मक रूपमा खुकुलो मौद्रिक नीति ल्याएकाले चालु आर्थिक वर्षमा पनि सोही प्रकृतिको अपेक्षा सरोकारवालाहरूको छ ।