१३ बैशाख, २०८१ बिहिबार

04:21:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फेरिँदै मुक्त कमैयाका दिन,पहिले मालिकको काममा जोतिन्थे, अहिले आफैँ स्वरोजगार

Nepal Business

२ साउन, २०७९

मुक्तिपछिका दिनमा श्रीमान् जागुरामले सिकेको डकर्मी तालिमको व्यावहारिक उपयोग गर्दै गरिएको कामबाट कमाइ हुन थालेपछि उहाँको परिवारको जीवनशैली पनि फेरिन थालेको छ ।

फेरिँदै मुक्त कमैयाका दिन,पहिले मालिकको काममा जोतिन्थे, अहिले आफैँ स्वरोजगार

सिद्धराज भट्ट    
सुदूरपश्चिम, 
विगतमा मालिकको घरमा कमैयाका रूपमा काम गर्दा पूर्वकमैया जागुराम चौधरीले आफैँ स्वरोजगार बनेर कमाइ गरौँला भनेर कहिल्यै सोच्नुभएको थिएन । 

“मुक्तिका केही वर्षसम्म पुनःस्थापनामा भएको ढिलाइले समस्या भोग्नुपर्यो”, उहाँले भन्नुभयो, “पुनःस्थापनापछि सिकेको सीपको व्यावहारिक उपयोगले भइरहेको आम्दानीले अहिले दिन फेरिएको अनुभूति भइरहेको छ ।” 

कमैया बस्दा मालिकले लाएअह्राएको खेतीसम्बन्धी सबै काममा जोतिनुपर्ने उहाँका दिन कमैया मुक्तिसँगै फेरिएका छन् ।     

“मुक्तिका केही वर्षसम्म पुनःस्थापनामा भएको ढिलाइले समस्या भोग्नुपर्यो”, उहाँले भन्नुभयो, “पुनःस्थापनापछि सिकेको सीपको व्यावहारिक उपयोगले भइरहेको आम्दानीले अहिले दिन फेरिएको अनुभूति भइरहेको छ ।” 

कमैया बस्दा काठ र फुसले बनेको कच्ची घर टहरोमा बसेको उहाँको परिवार अहिले माटोको गाह्रोले बनेको पक्की घरमा बसेको छ ।     
     
मुक्तिपछिका दिनमा आफूहरुमा चेतना अभिवृद्धि हुँदा अहिले कसैको आश्रयमा बस्नु नपरेको अनुभव उहाँकी पत्नी मनमतीले चौधरीले सुनाउनुभयो ।

मुक्तिपछिका दिनमा श्रीमान् जागुरामले सिकेको डकर्मी तालिमको व्यावहारिक उपयोग गर्दै गरिएको कामबाट कमाइ हुन थालेपछि उहाँको परिवारको जीवनशैली पनि फेरिन थालेको छ ।     
     
 “कच्ची घर टहरामा बसेर मालिकले लाउअह्राएको काम गर्नु पर्दा आफ्ना दिन फेरिन्छन् भन्ने सोचिएको थिएन”, उहाँले खुशी हुँदै भन्नुभयो, “मुक्तिपछिका दिनमा सीप सिकेर गरिएको कामले आम्दानी हुँदा सन्तुष्ट भएकी छु ।” कमाइसँगै उहांँले धनगढी उपमहानगरपालिका–१३ मा दुई कठ्ठा जग्गा जोड्नुभएको छ ।     
     
 मनमतीका श्रीमान्ले सिकर्मी र डकर्मी कामको सीपको काम गरेर र विद्युतीय रिक्सा चलाएर पनि कमाइ गरिरहनुभएको छ । आफू भने नजिकैको एक उद्योगमा काम गर्न जाने गरेको उहाँले बताउनुभयो । 

आर्थिक समस्याकै कारण कुनै समयमा छोरा छोरीलाई विद्यालय पठाउन सक्ने अवस्थामा नरहेका उहाँका छोरा अहिले नजिकको विद्यालयमा गएर पढ्ने गरेका छन् ।     
     
 उहाँले परिवारका सदस्यसहित धनगढी उपमहानगरपालिका–५ र ६मा विगतमा कमैया बसेर काम गर्नुभएको थियो ।     
     
 अर्का मुक्त कमैया गोपाल चौधरीले आयआर्जन गर्न विद्युतीय रिक्सा चलाउन थाल्नुभएको छ । “रु चार लाखमा रिक्सा किनेर काम गरिरहेको छु”, गोपालले भन्नुभयो, “रिक्सा किन्दा लागेको ऋणको मासिक किस्ता तिर्न र घर खर्चको जोहो गर्न पुगेको छ ।”     
     
 उहाँले पनि विस्तारै आफ्नो पक्की घर निर्माण गर्ने सोच बनाउनुभएको छ । मुक्तिपछिका दिनमा गरिएको स्वरोजगारमूलक व्यवसायबाट आम्दानी वृद्धि हुँदा जीवनयापन गर्न पहिलेको भन्दा सहज बनेको उनीहरुको अनुभव छ ।  
   
 कमैया पुनःस्थापना गर्न सरकारले गठन गरेको पुनःस्थापना जिल्ला समितिले विगतमा प्रति परिवारलाई ठाउँअनुसार कम्तिमा एक कठ्ठादेखि बढीमा पाँच कठ्ठासम्म जग्गा उपलब्ध गराई पुनःस्थापित गराएको थियो ।     
     
नदी किनारको ऐलानी पर्ती जग्गामा पुनःस्थापित गराइएका कतिपय परिवारलाई भने वर्षायाममा बाढीको जोखिम देखिने गरेको छ । पुनःस्थापनाका क्रममा कतिपय पूर्व कमैया परिवार पुनःस्थापना हुनबाट छुटेको पूर्व कमैयाका अगुवाहरुले बताउनुभएको छ ।     
     
 एक तथ्याङ्कअनुसार कैलाली जिल्लाका चार हजारभन्दा बढी मुक्त कमैयालाई विभिन्न सीपमूलक र आयमूलक तालिम दिइएकोमा करिब ७० प्रतिशतले आफ्नो सीपको व्यावहारिक सदुपयोग गरेको देखिएको छ ।     
     
 मुक्त कमैयाहरुले सिकर्मी, डकर्मी, सिलाइ कटाई, बङ्गुर पालन, कुखुरा पालन, तरकारी खेतीलगायतका विषयमा तालिम सिकेका थिए ।     
     
तत्कालीन सरकारले विसं २०५७ साउन २ गते नेपालको कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङमा कुप्रथाका रूपमा रहेको कमैया प्रथालाई अवैध घोषणा गर्दै कमैया मुक्तिको घोषणा गरेको थियो । मुक्ति भएको दिनको सम्झनामा आज साउन २ गते पूर्वकमैयाहरुले मुक्ति दिवस मनाएका छन् ।     
     
 सरकारले विगतमा मुक्त कमैया परिवारको पुनःस्थापना कार्यक्रमअन्तर्गत मुक्त कमैयाको घर निर्माणका लागि जग्गा खरिद गर्न, घर बनाउन काठ र घर मर्मतका लागि रकम उपलब्ध गराएको थियो । 

यसबाहेक धेरै मुक्त कमैया परिवारलाई जग्गा उपलब्ध गराएको थियो । कमैया मुक्ति दिवसका अवसरमा कैलालीको टीकापुर नगरपालिका लगायतका थारु बस्तीका पालिकामा आज सार्वजनिक विदा दिइएको थियो ।