५ जेठ, २०८१ शनिबार

09:42:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चाकु उद्योगमा लाखौंको लगानी, करोडौंको आम्दानी

२८ पुस, २०७८

चाकु, ध्यू, तरुल, तिलको लड्डु खाने दिन आयो

चाकु उद्योगमा लाखौंको लगानी, करोडौंको आम्दानी

काठमाण्डौं

हरेक वर्ष जस्तै यस वर्ष पनि मागे संक्रान्ती घुमेर आएको छ । हामीले हरेक वर्ष माघ १ गते मागे संक्रान्ती मनाउने गर्छौ । माघ १ गते आउन मात्र तीन दिन बाँकी छ । यसका पनि थरी–थरी नाम छन्, माघे संक्रान्ति, मकर संक्रान्ति, माघी। विभिन्न समुदायले आफ्नो हिसाबले यसको नामाकरण गरेका छन् ।

नामसँगै माघे संक्रान्तीमा थरी–थरीका परिकार पाक्छन् । तर विशेषगरी चाकु माघे सक्रान्तिको विशेष परिकारमा पर्छ । चाकु धेरैको घरमा बनाइन्छ । नबनाउनेले बजारबाट किनेर भए पनि खाने गर्छन् । त्यसैले त चाकु व्यवसायीले दुई महिना अघिदेखि नै चाकु बनाउन सुरु गरिसक्छन् ।

अब चाकु बनाउन मात्र तीन दिन बाँकी रहेको टोखा नगरपालिका–३ टोखाका कृष्णालाल श्रेष्ठ बताउनुहुन्छ । उँहा भन्नुहुन्छ, ‘यो दुई महिना पुरा चाकु बनाउने हो । अब यो महिनाको ३० गतेसम्म चाकु बनाउने त्यसपछि सकिन्छ । यो दुई महिनाको अवधिमा उँहाले ९ सय ५० बोरा चाकु बेच्छौँ ।’

उँहाका अनुसार सिजनका बेला राम्रो कमाइ हुन्छ । ‘हामी नेवार समुदायको यमरी पूजामा पनि चाकु धेरै चाहिन्छ’, उँहाले भन्नुभयो, ‘संक्रान्ती पनि छ। जसले गर्दा चाकुको माग बढि हुने भएकाले राम्रो कमाई हुन्छ ।’

विशेषगरी यसै दुई महिनाका लागि आफूहरुले कामदार पनि राखेको उँहा बताउनुहुन्छ । सिजन नभएका बेला अर्डर अनुसार मात्र काम गर्ने भएकाले थोरै कामदारले पनि व्यवसाय चल्ने उँहाले बताउनुभयो । ‘अहिले चाकु बनाउने २५ जना मान्छे छन् । हामी सबैले बेलुका ८ बजेसम्म काम गछौँ’, उँहाले भन्नुभयो, ‘सिजन नभएका बेला एक÷दुई दिन काम गर्दा पुग्छ ।’  चकु बनाउने काम उँहाको पुर्खौली पेश हो । उँहाले आफ्ना बाउबाजे बाटै सिकेर चाकु बनाउन थालेको अहिले १६ वर्ष भयो ।

उँहाहरुले विशेषगरी सादा चाकु, स्पेशल चाखु, सुत्केरीले खाने चाकु, कालो तिल, सेतो तिल लगायतका परिकार बनाउनुहुन्छ । यी परिकार बनाउन सामान्यतया १० देखि१२ लाख खर्च लाग्ने उँहाले बताउनुभयो ।

कृष्णालाल जस्तै टोखा नगरपालिका–३ का न्हुछें नारायण श्रेष्ठलाई पनि अहिले भ्याइनभ्याई छ । संक्रान्ती र यमरी पूजा भएकाले चाकु बनाउन र ग्राहकसम्म पु¥याउन भ्याइनभ्याइ छ। उँहा पसलमा बुहारी, नातीलाई राखेर अर्डर भएका ठाँउमा चाकु पु¥याउन दौडिनुहुन्छ । यो दुई महिना उँहालाई फुर्सद हुँदैन’, बुहारी मायदेवी श्रेष्ठले भन्नुभयो, हामीले पसल र उद्योग हेर्ने हो ।’

मायादेवीका अनुसार दुई महिना चाकुको राम्रो व्यापार हुन्छ । जसले गर्दा सबै हतारमै हुन्छन् । संक्रान्तीमा खाने चाकुको मूल्य एक सय ३० रुपैयाँदेखि सुरु हुने उँहाले बताउनु भयो । हरेक वर्षको यस बेला यस्तै व्यस्त भइने उँहाले बताउनुभयो । ‘हाम्रो पनि यमरी पुजा हुन्छ । त्यसका लागि पनि चाकु चाहिन्छ । हाम्रो नेवारी समुदायमा त जन्म र मृत्यु दुबैमा चाकु चाहिन्छ’, उँहाले भन्नुभयो, अहिले विशेषगरी यमरी र संक्रान्तीका लागि चाकु बनाइन्छ । अरु बेला दिनदिनै बनाउनु पर्दैन।’

उँहाका अनुसार अब चाकु बनाउने काम सकिन लागेको छ । अब एक–दुई दिन मात्र चाकु बनाउने उँहाले बताउनुभयो ।चाकु संख्खर, उखुबाट बन्छ । मायादेवी श्रेष्ठका अनुसार भेलीबाट सोझै चाकु बनाउन सकिन्छ भने उखुबाट भेली बनाएर अनि चाकु बनाइन्छ । 

संक्रान्तीमा बनाउने चाकुका लागि चाहिने कच्चा पदार्थ अर्थात सख्खर (भेली÷गुड) भारत, चाइना, अमेरिका, इन्डोनेशिया, बंलादेशबाट आयात गरिने भन्सार विभागले जानकारी दिएको छ । सबैभन्दा धेरै छिमेकी राष्ट्र भारतबाट आयात गरिन्छ । भारतबाट मात्रै चालु आर्थिक वर्षको पाँच महिनामा ८३ करोड ८२ लाख ४१ हजार रुपैयाँ बराबरको  संख्खर (भेली÷गुड)  आयात भएको भान्सार विभागको तथ्यांकमा उल्लेख छ ।

यस्तै भारत, चाइना, अमेरिका, इन्डोनेशिया र बंगलादेशबाट गरि ४२ करोड ७८ लाख ३५ हजार रुपैयाँको सख्खर आयात भएको भन्सार विभागले जनाएको छ । पाँच महिनामा १८ करोड ७५ लाख २२ हजारको चिनी आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

माघे संक्रान्ति किन मनाइन्छ ?

हाम्रो पुर्खाहरुले परापूर्व कालदेखि नै मनाउँदै आएको माघे संक्रान्ती हामीहरुले पनि मनाउँदै आएका छौँ।  यो पर्व  निकै महत्वपूर्ण छ । किनभने यो हाम्रो स्वास्थ्य र समाजसँग जोडिएको छ । यो पर्वले जाडो यामको एक निश्चित परिवर्तनलाई संकेत गर्छ । ज्योतिष विज्ञानको मान्यता अनुसार यो दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्ने संस्कृतविद्हरुले बताउँदै आएका छन् ।

यस्तै संक्रान्तीका दिन तरुल, घ्यू, चाकु, तिलको लड्डु, खिचडी आदि खाइन्छ । तरुल वा कन्दमुल यो सिजनको मौसमी खानेकुरा हुन् भने घिउ, चाकु, तिलको लड्डु पनि खाने चलन छ । जसले शरीरलाई जाडोबाट लाग्ने रोगसंग जुध्न सहयोग गर्छ । अर्थात जाडोमा शरीरलाई न्यानो बनाउनका लागि यी खानपान उपयोगी हुन्छ ।

यति मात्र होइन, यी खानेकुरालाई संक्रान्तीका दिन आफ्ना इष्टमित्र, छरछिमेकीलाई प्रसादका रुपमा दिने चलन पनि छ । विशेषगरी ग्रामीण क्षेत्रमा अझै यस्तो चलन रहेको छ।