९ मंसिर, २०८१ आइतबार
03:46:40 AM
१ साउन, २०७९
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने बेला हुन लाग्दा सबैमा आगामी आर्थिक वर्षको मौद्रिक नीति कस्तो आउला भन्ने चासोको बिषय बनेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति कस्तो आउला भनेर चासो लिनु स्वभाबिक पनि हो ।
नेपाल राष्ट्र बैंक यति बेला धमाधम मौद्रिक नितीको तयारीमा जुटेको छ । राष्ट्र बैंक यतिबेला आगामी आर्थिक वर्ष २०७९।८० को मौद्रिक नीति निर्माणको अन्तिम चरणमा पुगेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिका लागि जेठबाट विभिन्न सरोकरवालासँग सुझाव मागेको थियो भने अहिले विभिन्न संघसंस्थासँग अन्तरक्रिया समेत गरिरहेको छ । विगतका वर्षहरुमा साउनको पहिलो साताभित्र मौद्रिक नीति सार्वजनिक गरिएको थियो ।
यस वर्ष पनि साउनको पहिलो सातानै मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक रहेको छ । गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति कसिलो ल्याउने संकेत गर्दै आउनुभएको छ । उहाँले समग्रमा अर्थतन्त्र अप्ठ्यारोबाट बाहिर निकाल्न साना तथा मझौला उद्योग–व्यवसाय, कृषि, विपन्न वर्गलगायतलाई हेरेर आगामी मौद्रिक नीति ल्याइने तयारीमा रहेको जनाउनुभएको छ ।
उद्यमी तथा व्यवसायीहरूले आगामी मौद्रिक नीति बढ्दो अवस्थामा रहेको आयात र यसबाट सिर्जित डलरको मौजाद घट्ने स्थितिलाई नियन्त्रण गर्ने, तरलता व्यवस्थापन, ब्याज दरको स्थायित्व र वाह्य क्षेत्र व्यवस्थापन गर्ने, घरेलु, साना र मझौला उद्योगको प्रवद्र्धन, उत्पादनमूलक उद्योगलाई प्रोत्साहन, निर्यात बढाएर व्यापार घाटा न्यूनीकरणमा भूमीका खेल्ने र विदेशी मुद्राको सञ्चितिको समस्या समाधान गर्ने र अनुत्पादक क्षेत्रमा लगानी घटाउने खालको आउन आवश्यक रहेको बताउँदै आएका छन् ।