९ मंसिर, २०८१ आइतबार
03:02:15 AM
२८ असार, २०७९
काठमाडौं । आर्थिक वर्ष सकिनै लाग्दा बैंकहरुको निक्षेपमा उच्च वृद्धि देखिएको छ । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को पछिल्लो तथ्यांक अनुसार असार महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप ९४ अर्ब रुपैयाँले बढेको छ। चालु आर्थिक वर्षको अन्तिम महिना अर्थात असारको २४ गतेसम्म वाणिज्य बैंकको निक्षेपमा ९४ अर्ब रुपैयाँले बढेको छ । योसँगै असार २४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ। गत जेठ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब रुपैयाँ मात्रै थियो।
गत असार १० गतेसम्म ४३ खर्ब ९८ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप असार १७ गतेसम्म आइपुग्दा ३४ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको थियो। त्यसपछिको एक साता अर्थात असार १८ गतेदेखि असार २४ गतेसम्म वाणिज्य बैंकहरुमा थप ६२ अर्ब रुपैयाँ बढेको छ।
असार लागेयता वाणिज्य बैंकहरुको कर्जा लगानी १९ अर्ब रुपैयाँले घटेको छ। गत जेठ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९३ अर्ब रुपैयाँ रहेकोमा असार २४ गतेसम्म आइपुग्दा घटेर ४१ खर्ब ७४ अर्ब रुपैयाँमा सीमित बनेको छ। नेपाल बैकर्स एसोसिएसनका अनुसार वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८८.५७ प्रतिशत रहेको छ ।