९ मंसिर, २०८१ आइतबार

01:51:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्र बैंकले ७ वाणिज्य बैंकलाई लगायो ‘क्यापिटल चार्ज’, को–को परे ?

Nepal Business

२७ असार, २०७९

राष्ट्र बैंकले ७ वाणिज्य बैंकलाई लगायो ‘क्यापिटल चार्ज’, को–को परे ?

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले निक्षेप तरलता अनुपात नपुग्ने ७ वटा वाणिज्य बैंकलाई ‘क्यापिटल चार्ज’ लगाएको छ । राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा ७ वटा वाणिज्य बैंकले तरलता अनुपात (लिक्विडिटी टू डिपोजिट रेसियो ‘एलडी’) कायम गर्न सकेका छैनन् ।

चैत मसान्तको विवरण अनुसार बैंकहरुको औसतमा तरलता अनुपात २१.२२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । असार मसान्तमा बैंकहरुको तरलता अनुपात २७.१७ प्रतिशतले थियो । बैंकहरुले आफूसँग भएको निक्षेपमा २० प्रतिशत रकम तरल रुपमा राख्नुपर्छ ।

बैंकहरुसँग भएको निक्षेप २० प्रतिशतसम्मको रकम जुनसुकै बेला फिर्ता गर्नुपर्ने सम्भावनालाई ध्यान दिएर २० प्रतिशत बराबरको रकम तरल रुपमा राख्नुपर्ने व्यवस्था छ । चैत मसान्तमा सबैभन्दा कम तरलता अनुपात १५.९१ प्रतिशत प्राइम बैंकको रहेको छ । राष्ट्र बैंकले प्राइमलाई सबैभन्दा बढि चार्ज लगाएको छ । 

यस्तै एसबीआई बैंकको १८.१४ प्रतिशत, कुमारी बैंकको १८.२३ प्रतिशत, लक्ष्मीको १८.८७ प्रतिशत सिद्धार्थ बैंकको १९.०२ प्रतिशत रहेको छ । यस्तै सेञ्चुरी बैंक १८.०८ प्रतिशत तरलता अनुपात रहेको छ भने सनराइज बैंकको १९.०४ प्रतिशत रहेको छ ।

हरेक महिनामा तरलता अनुपात नपुग्ने बैंकहरु कारवाहीमा पर्ने गरेका छन् । तरलता अनुपात कम हुनुको अर्थ बैंकले निक्षेपकर्ताले चाहेको बेला पैसा फिर्ता गर्न नसक्ने अवस्था तर्फ गएको बुझिन्छ ।

राष्ट्र बैंकले ११ वटा शिर्षकमा क्यापिटल चार्ज लगाउने गर्छ । जसमा एउटा शिर्षकमा तरलता अनुपात समेत पर्छ ।