११ मंसिर, २०८१ मंगलबार

03:07:10 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जनप्रतिनिधिहरूले विकास र लगानीका लागि प्रतिस्पर्धा गर्नुपर्छः वरिष्ठ उपाध्यक्ष ढकाल

Nepal Business

२० असार, २०७९

जनप्रतिनिधिहरूले विकास र लगानीका लागि  प्रतिस्पर्धा गर्नुपर्छः  वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँगको सहकार्यको महत्वलाई बुझेर अगाडि बढ्न जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।

सोमबार चन्द्रागिरि उद्योग वाणिज्य संघद्वारा आयोजित नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रममा उहाँले सरकार तथा निजी क्षेत्रबीचको सहकार्यले मात्र जनताको अपेक्षा अनुसार समृद्धि र विकास  हासिल गर्न सकिने बताउनुभएको हो । 

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीय सरकार र निजी क्षेत्र दुवैको साझा लक्ष्य विकास र समृद्धिमार्फत जनतालाई सुखी तुल्याउने रहेको बताउनुभयो ।त्यसैले राज्य र निजी क्षेत्रबीच बलियो साझेदारीका लागि ढकालले जनप्रतिनिधिलाई आह्वान समेत गर्नुभयो । 

उहाँका अनुसार स्थानीय निकायका जनप्रतिनिधिहरूले विकास र लगानीका लागि एक आपसमा प्रतिस्पर्धा गर्नुपर्छ । स्थानीय जनप्रतिनिधिहरूले आफ्नो स्थानीय तहमा धेरै भन्दा धेरै उद्योग व्यवसायहरू सञ्चालन गर्ने, लगानी भित्र्याउने र रोजगारी सृजना गर्ने विषयमा एक आपसमा प्रतिस्पर्धा गर्नुपर्ने उहाँको भनाइ छ। 

उहाँले प्रतिस्पर्धा भयो भने स्थानीय निकायहरूले स्थानीयवासीहरुलाई रोजगारी सृजना गर्ने, भौतिक पूर्वाधार निर्माण हुने र साथ–साथै राजश्व पनि संकलन हुने बताउनुभयो । 

यस्तै चन्द्रागिरि हिल्सले चन्द्रागिरिका स्थानीयहरूलाई रोजगारी दिएको, स्थानीय उत्पादनको प्रवर्द्धन गरेको र अन्य सामाजिक क्षेत्रमा सहयोग पु¥याएको पनि उहाँले बताउनुभयो ।