१६ बैशाख, २०८१ आइतबार

08:55:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको ८५ प्रतिशत काम सकियो

Nepal Business

२० असार, २०७९

गण्डकी प्रदेशको राजधानी सहर पोखराका आधाभन्दा बढी जनसङ्ख्या यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । आयोजनाको पाइप लाइन विस्तार र एउटा ‘रिजर्भवायर ट्याङ्की’ र मुहानमा केही काममात्र बाँकी रहेको बताइन्छ ।

बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको ८५ प्रतिशत काम सकियो

कास्की 

बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।  संघीय राजधानी काठमाडौँको मेलम्ची खानेपानी आयोजना पछिको सो आयोजना ठूलो मानिन्छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को रु पाँच अर्ब अनुदान सहयोगमा सो आयोजना विसं २०७६ देखि पोखरामा सुरु भएको थियो ।  

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को रु पाँच अर्ब अनुदान सहयोगमा सो आयोजना विसं २०७६ देखि पोखरामा सुरु भएको थियो ।  

पोखरेलीले सिधै धाराबाट धापेर पिउन मिल्ने गरी पानी सफा बनाउने लक्ष्य राखिएको आयोजनाको हाल ८५ प्रतिशत काम सकिएको छ । 

आयोजना सम्पन्न हुने चरणमा पुग्नै लाग्दा अप्रशोधित धमिलोपानी पिउनुपर्ने बाध्यतासमेत अन्त्य हुँदैछ । पोखरेलीको खानेपानीको प्रमुख स्रोत मर्दीखोलाबाट ल्याइएको पानी हाल प्रशोधन नगरिकन धारामा पठाउने गरिएकामा आयोजनाको लक्ष्य मुहानबाटै शुद्धीकरण गरेर सिधै धाराबाट पिउनयोग्य बनाउने रहेको छ । 

गण्डकी प्रदेशको राजधानी सहर पोखराका आधाभन्दा बढी जनसङ्ख्या यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । आयोजनाको पाइप लाइन विस्तार र एउटा ‘रिजर्भवायर ट्याङ्की’ र मुहानमा केही काममात्र बाँकी रहेको बताइन्छ । 

 जाइकाको अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा खानेपानी संस्थानले आयोजना कार्यान्वयन गरिरहेको आयोजना निर्माणको काम जापानको हाज्मा एण्ड कर्पोरेशनले गरिरहेको छ ।

प्राविधिक समस्या समाधान भएको अवस्थामा आगामी छ महिनाभित्रमा आयोजना सम्पन्न भइसक्ने पोखरा खानेपानी सुधार आयोजनाले जनाएको छ ।

आयोजनाका इन्जिनियर सन्तोषकुमार दासले काम अन्तिम चरणमा पुगेको र बजारका केही स्थानमा पाइप लाइन विस्तारमा समस्या देखिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “पाइप लाइन विस्तारका क्रममा केही ठाउँमा नयाँ पिच र अस्फाल्ट कालोपत्रे सडक खन्नुपर्ने हुन्छ, महानगर र सडक कार्यालयबाट सडक खन्ने अनुमति नपाउँदा ढिलाइ भएको छ । कोलपाटनमा एयरपोर्ट नजिकको रिजर्भवायर ट्याङ्कीको कामसमेत अहिले अघि बढ्न सकेको छैन ।”

आयोजनाको हालसम्म मर्दी मुहानमा ‘ग्रिड च्याम्बर’, ‘सेडिमेन्टेशन ट्याङ्की’ र ‘स्लो स्याण्ड फिल्टर’को ९५ प्रतिशत काम सकिएको छ । पोखराभित्रका तीनवटा ठूला रिजर्भवायर ट्याङ्कीमध्ये फूलबारी र मालेपाटनको सकिएको छ । 

इन्जिनियर दासका अनुसार ‘रिजर्भवायर ट्याङ्की’को कोलपाटनको काम प्राविधिक समस्याका कारण रोकिएको हो । अन्तर्राष्ट्रिय विमानस्थलसँगैको सो ट्याङ्कीको उचाइका कारण एयरपोर्ट सञ्चालनमा प्राविधिक समस्या आउन सक्ने अनुमान कारण रोकिएको हो ।

 यसलाई अन्यत्र स्थानान्तरण गर्ने भन्ने बारेमा जाइका र नेपाल सरकारले निर्णय गरिसकेका छैनन् । यसैगरी बजार क्षेत्रमा १०० किमी पाइप लाइन विस्तारको काममध्ये अब १५÷१६  किमी मात्र बाँकी छ ।

उहाँले भन्नुभयो, “केही प्राविधिक समस्याले रोकिएको बाहेक आयोजनाका अन्य काम अन्तिम चरणमा छन् । आयोजना सम्पन्न भएपछि वितरण प्रणालीमा सुधार हुनेछ र शुद्ध पानी उपभोक्ताकामा पुग्नेछ, प्राविधिक समस्या समाधानलगत्तै आयोजना सम्पन्न हुन पाँच÷छ महिना समय लाग्छ ।” 

आयोजना सम्पन्न भएपछि आयोजनाले समेटेको क्षेत्रमा राष्ट्रिय खानेपानी गुणस्तर अनुसारको प्रशोधित पानी उपलब्ध हुने खानेपानी संस्थानले जनाएको छ । पोखरा महानगरका चार लाख पाँच हजार ८८९ जनसङ्ख्या आयोजनाबाट लाभान्वित हुने अनुमान गरिएको छ ।

हाल साविक पोखरा उपमहानगरपालिकाका १७ वडा र मुख्य पोखराको क्षेत्रमा मर्दी खोलाबाट ल्याइएको पानी वितरण हुँदै आएको छ । मर्दी मुहानबाट २० र १६ इञ्चका  पाइपमार्फत पोखरामा पानी वितरण हुन्छ । पोखराको ८० प्रतिशत उपभोक्ताकामा मर्दीको पानी वितरण हुन्छ ।

 सन् २०१७ को फेब्रुअरी १५ तारिखमा सरकार र जाइकाबीच खानेपानी सुधार आयोजनासम्बन्धी सम्झौता भएको थियो । सम्झौतापछि विसं २०७६ जेठमा आयोजनाको शिलान्यास गरेर तीन वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित काम अघि बढेको थियो ।