१० मंसिर, २०८१ सोमबार

10:25:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

'कोभिडले व्यवसायलाई आक्रान्त बनायो, लाखौँ श्रमिक वेरोजगार'

Nepal Business

२४ पुस, २०७८

'कोभिडले व्यवसायलाई आक्रान्त बनायो, लाखौँ श्रमिक वेरोजगार'

२४ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारदाता र श्रमिकको सम्बन्ध सुमधुर नभए उद्योग व्यवसाय फस्टाउन नसक्ने बताउनुभएको छ ।

तनहुँ उद्योग वाणिज्य सङ्घको शनिबार आयोजित ३६औँ साधारणसभाको उद्घाटन गर्दै उहाँले रोजगारदाता र श्रमिक एक अर्काका परिपूरक रहेको चर्चा गर्नुभयो । 

रोजगारी गुमाएका श्रमिकलाई रोजगारीको व्यवस्थापन गर्नु चुनौतीपूर्ण

श्रमिक र रोजगारदाताबीच आपसी समझदारी र सहकार्य नभए उद्योग क्षेत्र धारासायी बन्ने मन्त्री श्रेष्ठको भनाइ थियो । “श्रमिक रहे रोजगारदाता रहन्छन्, रोजगारदाता रहे श्रमिकको घरमा चुल्हो बल्छ”, उहाँले भन्नुभयो, “उद्योग फस्टाउन दुवैको उत्तिकै महत्वपूर्ण योगदान आवश्यक छ ।”

मन्त्री श्रेष्ठले श्रमिक र रोजगारदाताको सम्बन्ध सुमधुर बनाउन सरकारका तर्फबाट खेल्न सक्ने भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “रोजगारदाताका पनि आफ्नै समस्या छन्, बैंकको ऋण तिर्ने समस्या एकातिर हुन्छ, अर्कोतर्फ श्रमिकको पनि आफ्नै समस्या छन्”, उहाँले भन्नुभयो, “दुवैको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्छ ।”

कोभिड–१९ ले उद्योगी व्यवसायीलाई आक्रान्त बनाएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले कोभिडकै कारण लाखौँ श्रमिकले पनि रोजगारी गुमाएको उल्लेख गर्नुभयो । रोजगारी गुमाएका श्रमिकलाई रोजगारीको व्यवस्थापन गर्नु सरकारको चुनौती रहेको उहाँको भनाइ थियो । उहाँले उद्योगी व्यवसायीलाई आवश्यक सीप प्रदान गर्न विभिन्न तालिम सञ्चालन गर्ने विषयमा आफू कटिबद्ध रहेको बताउनुभयो । 

उहाँले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका लागि सुधारका काम सुरुआत भइसकेको बताउनुभयो । सीपमूलक सीप प्रदान गर्नका लागि सातवटै प्रदेशमा तालिम केन्द्र र प्रदेशबाटै श्रम स्वीकृति लिन मिल्ने व्यवस्था गर्न लागिएको श्रेष्ठले जानकारी दिनुभयो । 

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले उद्योगी व्यवसायीको सुरक्षाका लागि सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले लगानीको वातावरण सिर्जना गर्नका लागि आवश्यक नीति निर्माण गरिने बताउनुभयो । 

प्रदेशसभा सदस्य सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायतले उद्योग व्यवसाय फस्टाउन आवश्यक नीति निर्माणमा सहयोग गर्ने बताउनुभयो ।

सङ्घका अध्यक्ष पवीन्द्रकुमार श्रेष्ठले युवालाई स्वरोजगार र महिलालाई उद्यमशील बनाउने खालका कार्यक्रम ल्याउन मन्त्री श्रेष्ठमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।