८ मंसिर, २०८१ शनिबार
09:43:08 PM
११ असार, २०७९
डुबान र पहिराका कारण ५ सयको हाराहारीमा मानिस विस्थापित भएको सम्बन्धित वडाका वडा अध्यक्षले जानकारी दिनुभयो ।
कास्की । हिजो रातिदेखि नियमित रुपमा परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३ सय भन्दाबढी घर डुबानमा परेका छन् । वर्षाका कारण हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरीचोक र म्याग्दीचोकका घर डुबानमा परेको जनाइएको छ ।
पहिराले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्णरुपमा क्षति गरेको र थप १५ घर उच्च जोखिममा परेको छ । डुबान र पहिराका कारण ५ सयको हाराहारीमा मानिस विस्थापित भएको सम्बन्धित वडाका वडा अध्यक्षले जानकारी दिनुभयो ।
बस्तीमा बाढी पस्न थालेपछि राति नै स्थानीय वासिन्दा सुरक्षित स्थानतर्फ गएका थिए ।‘भारी वर्षापछि नहर फुटेर बस्तीमा पस्दा र खहरे खोला उर्लिएर आउँदा घर डुबानमा परेका छन् । पहिराले दुई घर र कृषि र पशुपक्षीतर्फ धेरै क्षति पुर्याएको छ।
शुक्रबार राति सुरक्षित स्थानतर्फ गएकाहरु स्थानीय विद्यालय, मन्दिर तथा आफन्तकामा आश्रय लिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले क्षतिको विवरण सङ्कलन भइरहेकाले यकीन विवरण आउन बाँकी रहेको बताउनु भयो ।
यसैगरी अविरल वर्षाका कारण पोखरा–१६ अर्मलास्थित स्यालघारीमा रामबहादुर मगरको घर, पहिरामा बगेर पूर्ण क्षति भएको छ ।
अर्को एक घर पहिरामा झुन्डिएको अवस्थामा रहेको र सो क्षेत्रका ११ घर उच्च जोखिममा रहेका कारण अन्यत्र स्थानान्तरण गर्नुपर्ने बताइएको छ । पहिराबाट विस्थापितका लागि आमासमूह र सहकारी भवनको प्रयोग गरिएको छ ।