२६ बैशाख, २०८१ बुधबार

05:16:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चिनियाँ राष्ट्रपति हङकङको भ्रमणमा निस्कने, धेरै विदेशी सञ्चारमाध्यमलाई निषेध

Nepal Business

११ असार, २०७९

केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी हङकङ विशेष प्रशासनिक क्षेत्रको छैटौं कार्यकालको उद्घाटन समारोहमा पनि सहभागी हुनेछन् ।

चिनियाँ राष्ट्रपति हङकङको भ्रमणमा निस्कने,  धेरै विदेशी सञ्चारमाध्यमलाई निषेध

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले हङकङको भ्रमण गर्ने हुनु भएको छ। बेलायतले हङकङ शहर चीनलाई हस्तान्तरण गरेको २५ औँ वार्षिकोत्सवका अवसरमा आगामी साता आयोजना हुने बैठकमा सहभागी हुन उहाँ भ्रमणमा निस्कन लाग्नु भएको हो ।

कोभिड–१९ को महामारीपछि मुख्य भूमि चीनबाट उहाँको यो पहिलो भ्रमण हो । राष्ट्रपति सीको उपस्थितिमा हुने भव्य समारोहमा हङकङ शहरका नयाँ नेता जोन लीले शपथ लिने कार्यक्रम रहेको समाचार एजेन्सी सिह्वाले जनाएको छ । 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी हङकङ विशेष प्रशासनिक क्षेत्रको छैटौं कार्यकालको उद्घाटन समारोहमा पनि सहभागी हुनेछन् ।

हङकङका अधिकारीहरूले कोभिड–१९ को महामारी प्रतिबन्ध र सुरक्षा कारण जनाउँदै नयाँ नेता लीको शपथ ग्रहण समारोहको समाचार सङ्कलन गर्न केही सञ्चारगृहमाथि प्रतिबन्ध लगाइएको छ। यद्यपि यसरी प्रतिबन्ध लगाइएका सञ्चारगृहका प्रतिनिधि नियमित रूपमा आयोजना हुने सरकारी प्रेस सम्मेलनहरूमा भाग लिने गरेका छन् ।

अधिकारीहरूले सी जिनपिङको उपस्थितिमा हुने कार्यक्रममा जापान निक्की, असाही शिम्बुन, र क्योडो न्यूज, ताइवानको सिटिभी, अमेरिकाको गेटी इमेजका साथै हङकङको इनमिडिया र हङकङ फ्रि प्रेसलाई प्रवेश निषेध गरिएको छ । 

हङकङ पत्रकार सङ्घले प्रशासनको उक्त निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । सङ्घले इच्छुक सञ्चारगृहका प्रतिनिधिलाई प्रवेशको अनुमति दिन आग्रह गरेको छ । जनतालाई जानकारी गराउने कर्तव्यबाट सञ्चारकर्मीलाई रोक लगाउन नहुने बताइएको छ ।

गत महिना राष्ट्रपति सीले नवनियुक्त हङकङ प्रमुख कार्यकारीलाई भेटेर अराजकताबाट सुव्यवस्थातर्फ हङकङ अघि बढेकामा उहाँलाई धन्यवादसहित बधाई दिनु भएको थियो । नव नियुक्त ६४ वर्षीय नेता लीले वर्तमान प्रमुख कार्यकारी क्यारी ल्यामबाट आगामी शुक्रबार कार्यभार सम्हाल्नु हुनेछ ।