२३ बैशाख, २०८१ आइतबार

02:02:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पूनःनिर्माणका अनुभव सुन्न काभ्रे आइपुगे विश्व बैंकका अधिकारी, समुदायको सक्रियता प्रशंसनीय

Nepal Business

१० असार, २०७९

स्थानीयवासीहरु सबै कङ्क्रिटबाट बनेको भूकम्प प्रतिरोधी घर बनाएर बसेका छन् । नेपाल सरकारबाट प्राप्त रु तीन लाखमा अपुग रकम थपेर कसैले एकतले त कसैले दुई या तीन तलासम्मका घर ठड्याएका छन् ।

पूनःनिर्माणका अनुभव सुन्न काभ्रे आइपुगे विश्व बैंकका अधिकारी, समुदायको सक्रियता प्रशंसनीय

नारायण ढुंगाना,

काभ्रेपलाञ्चोक (देउराली), १० असार ,

सयपत्री फूलको माला र ढाका टोपीबाट भव्य स्वागत पाएका विश्व बैंकका उच्च अधिकारीले भूकम्प प्रभावितका अनुभव सुन्ने इच्छा शुक्रबार काभ्रेपलाञ्चोक जिल्लाको एक गाउँका स्थानीयवासीले पूरा गरिदिएका छन् । 

विश्व बैंकका प्रतिनिधिहरुले विसं २०७२ वैशाख १२ गते ‘गोरखा भूकम्प’ जाँदाको अवस्था, स्थानीयवासीद्वारा त्यसको सामना र घर पुनः निर्माण र त्यसपछिको अवस्थाका बारेमा साक्षात्कार गरेर जानकारी लिनुभएको छ । 

विश्व बैंकका प्रतिनिधिहरुले विसं २०७२ वैशाख १२ गते ‘गोरखा भूकम्प’ जाँदाको अवस्था, स्थानीयवासीद्वारा त्यसको सामना र घर पुनः निर्माण र त्यसपछिको अवस्थाका बारेमा साक्षात्कार गरेर जानकारी लिनुभएको छ । 

भूकम्पले काभ्रेको धुलिखेल नगरपालिका–२ देउराली र कोइरालाबस्तीका स्थानीयवासीको घर क्षतविक्षत बनाइदिएको थियो । अहिले ती पुराना घर छैनन् ।

स्थानीयवासीहरु सबै कङ्क्रिटबाट बनेको भूकम्प प्रतिरोधी घर बनाएर बसेका छन् । नेपाल सरकारबाट प्राप्त रु तीन लाखमा अपुग रकम थपेर कसैले एकतले त कसैले दुई या तीन तलासम्मका घर ठड्याएका छन् ।

 ती क्षेत्रमा शुक्रबारको निरीक्षण भ्रमणमा विश्व बैंकका प्रबन्ध निर्देशक मारी पाङ्गेस्तु, दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हार्टविग चाफरसहितको टोलीको सहभागिता थियो ।

भूकम्पले घर क्षति बेहोर्नुभएका स्थानीयवासी गोकर्णप्रसाद कोइरालाले सरकारले दिएको रु तीन लाखमा आफूले रु १४ लाख थपेर घर निर्माण गरेको जानकारी दिनुभयो । यहाँका स्थानीयवासीले समुदायलाई नै सहभागी भएर ठेकेदारविना घर निर्माण गरेका छन् । 

अहिले सुविस्ता रहेको र भूकम्प आउँदा पनि कुनै डर नभएको उहाँले विश्व बैंकका प्रतिनिधिसामु बताउनुभयोे । अर्का स्थानीयवासी होमनाथ कोइराला पनि भूकम्प प्रतिरोधी घरमा बस्न पाउँदा निकै खुसी हुनुहुन्छ ।

उहाँले बेलाबेलामा इन्जिनियरहरु आएर मापदण्डअनुसार बने÷नबनेको परीक्षण गरी घर निर्माण गरिएकाले आफू ढुक्क भएको प्रतिक्रिया दिनुभयो ।

धुलिखेल नगरपालिकाको वडा नं २ का सचिव सुनिता शर्माका अनुसार उक्त वडामा मात्रै ६६० घर भूकम्पले भत्काएको थियो । त्यसमध्ये ५९५ घर बनिसकेको र अझै केही घर सम्पन्न हुने चरणमा रहेको उहाँले बताउनुभयो । 

नेपाल सरकारलाई विश्व बैंकले पुनःनिर्माण कार्यका लागि रु ७० अर्ब ऋण सहयोग गरेको र ‘मल्टी डोनर ट्रष्ट फन्ड’मार्फत विभिन्न तालिम तथा अपाङ्गता भएकाहरुका लागिसमेत सीपमूलक सहयोग गरेको थियो ।

नेपाल सरकारलाई विश्व बैंकले पुनःनिर्माण कार्यका लागि रु ७० अर्ब ऋण सहयोग गरेको र ‘मल्टी डोनर ट्रष्ट फन्ड’मार्फत विभिन्न तालिम तथा अपाङ्गता भएकाहरुका लागिसमेत सीपमूलक सहयोग गरेको थियो ।

त्यही कारण पनि पुनःनिर्माण क्षेत्रको स्थलगत भ्रमण गरी प्रभावितहरुको अनुभव सुन्न विश्व बैंकका अधिकारीहरु आफैँ फिल्डमा पुग्नुभएको हो ।

त्यहाँ महिलाहरुलाई डकर्मी तालिम दिएरसमेत घर निर्माणमा परिचालन गरिएको थियो । महिला डकर्मी कान्छी तामाङ, सावित्री ढकाल र विन्दामायाले आ–आफ्नो अनुभव सुनाउनुभएको थियो । 

उहाँहरुलाई विश्व बैंकका अधिकारीहरुले जीवनयापनको अवस्था तथा डकर्मी भएर खटिँदाको अवस्थाका बारेमा जिज्ञासा राख्नुभएको थियो । 

जवाफमा महिला डकर्मीहरुले पुरुषसँगै महिला पनि सक्षम छन् भन्ने उदाहरण पेस गरेको जानकारी गराउनुभयो । उहाँहरुले सुरुमा महिलाहरुले के गर्न सक्छन् भन्ने गरेकामा पछिपछि भने पुरुषले समेत स्वीकार गरेर सँगसँगै काम गरेको अनुभव सुनाउनुभयो ।

विश्व बैंकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हार्टविग चाफेरले समुदाय नै एकजुट भएर पुनःनिर्माणको काम गरेको सुनेर खुसी लागेको भन्दै उक्त कामको सराहना गर्नुभयो । उहाँले अहिलेको परियोजना सकिए पनि निरन्तर सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

विश्व बैंकका प्रबन्ध निर्देशक मारी पाङ्गेस्तुले गाउँलेहरुको आफ्नै सक्रियतामा सुरक्षित घर निर्माण गरेकामा खुसी व्यक्त गर्नुभयो । 

मारीको पुनःनिर्माणमा समुदाय कसरी परिचालित भए भनेर राखिएको प्रश्नको जवाफमा स्थानीयवासी होमनाथ कोइरालाले भन्नुभयो, “भूकम्पले क्षति पु¥याएपछि सुरुमा त्रिपाल राख्दादेखि घर सम्पन्न हुँदासम्म एकअर्काबीचमा सहयोग आदानप्रदान गरी मिलेर नै काम ग¥यौँ ।”

धुलिखेल नगरपालिका–२ का अध्यक्ष अर्जुन न्यौपानेले घर पुनःनिर्माण भएपछि बाँच्ने र परिवार पाल्ने आधार भएको र भोलि जोखिम नहोस् भन्नेमा समेत स्थानीयवासी सचेत बनेको उल्लेख गर्दै सहयोग गरेकामा विश्व बैंकप्रति आभार प्रकट गर्नुभयो । 

छलफलका क्रममा स्थानीयवासी कविता चौलागाईं, बलराम कोइराला, पविता वाग्लेलगायतले आ–आफ्ना अनुभवहरु सुनाउनुभएको थियो । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले स्थानीय समुदायले आफ्नो घर आफैँ खटिएर बनाएको विश्वकै नमूना भएको उल्लेख गर्नुभयो ।

उहाँले बढ्दो जलवायु परिवर्तनका कारण थप जोखिम रहेकाले सचेत हुन आग्रह गर्नुभयो ।