१५ बैशाख, २०८१ शनिबार

11:28:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उद्योगी व्यवसायीहरुको समस्या सरकारले समाधान गर्छः गृहमन्त्री खाँण

Nepal Business

१० असार, २०७९

मन्त्री खाँणले उद्योगी व्यवसायीका लागि आवश्यक सबै प्रकारका सेवा र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उद्योगी व्यवसायीहरुको समस्या सरकारले समाधान गर्छः गृहमन्त्री खाँण

 लुम्बिनी प्रदेश । गृहमन्त्री बालकृष्ण खाँणले नेपालका उद्योगी र व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर रहेको बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशको चौथो प्रदेशसभा अधिवेशनको शुक्रबार भैरहवामा उद्घाटन गर्दै मन्त्री खाँणले उद्योगी व्यवसायीका लागि आवश्यक सबै प्रकारका सेवा र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले मुलुकको पर्यटन उद्योगको विकास र विस्तारका लागि सरकारले चौबिसै घण्टा सेवा दिनेगरी काम अघि बढाइने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, पोखरा, काठमाडौँ, झापा, चितवन, भैरहवालगायतका पर्यटकीय सहरमा चौबिसै घण्टा होटल रेष्टुरेन्ट सञ्चालन हुने र आवश्यक सेवा दिनेगरी काम गर्ने वातावरण सरकारले मिलाउनेछ । 

उहाँले मुलुकको पश्चिम क्षेत्रको विकासका लागि सरकारले विशेष प्राथमिकता दिएको बताउँदै सिद्धबाबामा सुरुङ र दाउन्ने सडकको विस्तारको कामलाई सरकारले प्राथमिकता राखेको बताउनु भयो ।

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालमा अन्तःशुल्कको प्रयोग गलत भएको बताउँदै कच्चापदार्थमा यस्तो शुल्क लिन नहुने धारणा राख्नु भयो ।  

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक सङ्घीयतामा जाँदा तीन तहका सरकारको सहयोग र समन्वयबाट मुुलुकको विकास हुने अपेक्षा निजी क्षेत्रले गरेको तर निजी क्षेत्रले सोचेजस्तो तीन तहका सरकारबाट समन्वय हुन नसकेको बताउनु भयो।

उहाँले राज्यले उद्योगीले भोगिरहेका समस्याको समाधान गरी सबै व्यवसायीलाई ढुक्क भएर लगानी गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले विद्युतीय समस्या नै लुम्बिनी प्रदेशका उद्योगको मुख्य समस्या भएको बताउनु भयो। 

उहाँले बुटवल पाल्पा सडकखण्डको जोखिमले पनि उद्योगलाई नोक्सान पुयाउँदै आएको बताउनु भयो । सो कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीले बुटवल मोतिपुर औद्योगिक क्षेत्र, नेपालगञ्ज औद्योगिक क्षेत्रको व्यवस्थापन जरुरी तथा गुल्मीको कफी, रोल्पा रुकुम र प्युठानको जडीबुटीको औद्योगिकरणमा राज्यले ध्यान दिनु आवश्यक रहेकोमा जोड दिइएको थियो ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले लुम्बिनी प्रदेश लगानीकर्ताका लागि महत्वपूर्ण क्षेत्र भएको भन्दै उद्योगी व्यवसायीलाई लुम्बिनीमा लगानी गर्न आह्वान पनि गर्नु भएको थियो ।