७ मंसिर, २०८१ शुक्रबार

10:00:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विश्वकै दोस्रो लामो जीपलाइन : चाक्लेको डिलबाट साउने बगरसम्म

Nepal Business

२२ पुस, २०७८

विश्वकै दोस्रो लामो जीपलाइन : चाक्लेको डिलबाट साउने बगरसम्म

२१, पुस , पर्वत । पर्वतमा निर्माण गरिएको सुपरम्यान शैलीको जीपलाइन शनिबारदेखि व्यावसायिकरूपमा सञ्चालनमा आउने भएको छ । जीपलाइनको सबैजसो काम पूरा भएपछि पुस २४ गते शनिबारदेखि व्यावसायिक प्रयोजनका लागि खुल्ला गरिन लागिएको हो ।

केही दिनयता जीपलाइनको लगातार परीक्षण सकेर नियमित सञ्चालनमा ल्याइएको जीपलाइन सञ्चालक समितिका प्रमुख संरक्षक रामचन्द्र जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार व्यावसायिकरूपमा सञ्चालन गरिएसँगै टिकट बुकिङ खुल्ला गरिएको छ । आजदेखि टिकट बुकिङ खुल्ला गरिएको कम्पनीले जनाएको छ । अहिले प्रतिव्यक्ति रु तीन हजार ५०० टिकट दर तोकिएको छ । 

नयाँ वर्ष २०२२ को पहिलो दिन जनवरी १ मा प्राविधिक उपकरण जडान भए पनि सबै परीक्षण नसकिएकाले सञ्चालन हुन नसकेको उहाँले बताउनुभयो । जीपलाइनको व्यावसायिक सञ्चालनसँगै रिसोर्ट पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । कुस्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जिपलाइन यो क्षेत्रको पर्यटक प्रवद्र्धनको आयाम बन्ने लगानीकर्ताको दाबी छ । जीपलाइनमा दुई जनाले सँगै बग्न सकिने र ६० देखि ९० सेकेण्डमै गन्तव्यमा पुगिनेछ । 

जीपलाइन भारतको श्याम जीपलाइनले निर्माण गरेको हो । जीपलाइन सञ्चालक समितिका अध्यक्ष विदुर पौडेलका अनुसार हावाको गति र खेलाडीको तौलमा जिपलाइनको गति भर पर्ने भए पनि जीपलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने गर्दछ ।

कालीगण्डकी नदीको सतहबाट २३८ मिटरको उचाइबाट यात्रा सुरु हुनेछ भने त्यसको अवतरण कालीगण्डकी नदी किनारमा बन्ने रिसोर्टमा हुनेछ । सुपरम्यान शैलीमा पर्वतको जीपलाइन विश्वकै दोस्रो लामो भएको पनि पौडेलले बताउनुभयो । सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो दुई हजार ८०० मिटरको जीपलाइन दुबईमा रहेको छ । हाईड्रोलिक पिङ जीपलाइनसँगै सञ्चालन हुने पनि उहाँले जानकारी दिनुभयो ।