८ मंसिर, २०८१ शनिबार

02:02:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैतडीमा कक्षा ७ र ९ को पाठ्यपुस्तक अझै पुगेन, विनापुस्तक पढाई गर्नुपर्ने बाध्यता

Nepal Business

४ असार, २०७९

विद्यार्थी सङ्ख्याका आधारमा पाठ्यपुस्तक पुगेका छैनन्, पाठ्यक्रम हेरेर पठाउनुपर्ने बाध्यता छ ।

बैतडीमा कक्षा ७ र ९ को पाठ्यपुस्तक अझै पुगेन, विनापुस्तक पढाई गर्नुपर्ने बाध्यता

बैतडी । बैतडीमा पाठ्यपुस्तक अझै पुग्न सकेको छैन् । गत जेठ १ गतेदेखि नै नयाँ शैक्षिकसत्र सुरु भइसकेको भए पनि एक महिना बढी भइसक्दासमेत पाठ्यपुस्तक पुग्न नसकेको हो ।    

.बैतडीका सामुदायिक विद्यालयका लागि ८३ हजार पाठ्यपुस्तक आवश्यक भए पनि अहिलेसम्म ५० हजार मात्रै जिल्लामा पुगेका छन् । सबै पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको छ । विद्यार्थीसित विनापुस्तक पढाई गर्नुपर्ने बाध्यता छ ।  

विद्यालय खुलेको एक महिना भएको भए पनि अझै पनि  पाठ्यपुस्तकको अभाव रहेको सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले बताउनुभयो ।

नयाँ शैक्षिकसत्रको पढाइ सञ्चालनमा रहेको भए पनि सबै पाठ्यपुस्तक नपुग्दा समस्या भएको छ । उहाँले भन्नुभयो, विद्यार्थी सङ्ख्याका आधारमा पाठ्यपुस्तक पुगेका छैनन्, पाठ्यक्रम हेरेर पठाउनुपर्ने बाध्यता छ ।

स्थानीय निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको जानकारी आएको र केही दिनमै जिल्लामा पाठ्यपुस्तक पुग्ने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, कक्षा ७ र ९ को सबै पुस्तक अभाव छ, बाँकी पनि विद्यार्थी सङ्ख्याका आधारमा आइपुगेको छैन । पाठ्यक्रम हेरेर पठनपाठन सञ्चालन गर्नुस् भनेर विद्यालयलाई भनेका छौँ । बैतडीमा ५४० सामुदायिक विद्यालय छन् ।