१७ बैशाख, २०८१ सोमबार

01:25:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

२५ जेठ, २०७९

आगामी आर्थिक वर्ष २०२३/२४ का लागि नेपालले ५.८ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ ।

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ । विश्व बैंकले सन् २०२२/२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत बराबर मात्रै रहने प्रक्षेपण सार्वजनिक गरेको छ । विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यसअघिको प्रक्षेपणभन्दा ०.२ प्रतिशत बिन्दुले अनुमान घटाएको हो ।

त्यस्तै आगामी आर्थिक वर्ष २०२३/२४ का लागि नेपालले ५.८ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । नेपालले भने आर्थिक वर्ष २०७८/७९ का लागि ५.८४ र आर्थिक वर्ष २०७९/८० का लागि ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।

सबै दक्षिण एसियाली मुलुकहरुको आर्थिक वृद्धिदर यसअघि गत जनवरीमा अनुमान गरेको भन्दा कम रहने विश्व बैंकले जनाएको छ । सन् २०२२ का लागि दक्षिण एसियाली क्षेत्रमा ७.६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने यसअघिको प्रक्षेपणलाई ०.८ प्रतिशत बिन्दुले घटाएर ६.८ प्रतिशत कायम गरेको छ ।

आर्थिक वृद्धिदर घट्ने अनुमानका पछाडि बाह्य क्षेत्रलाई मुख्य कारण मानिएको छ । बढ्दै गएको चालु खाता घाटा, खाद्यान्न लगायत उपभोग्य सामग्रीको मूल्य वृद्धिजस्ता कारणहरुलाई चुनौतीका रुपमा हेरिएको छ । त्यस्तै कृषि क्षेत्रमा रासायनिक मलको अभाव, गहुँलगायत खाद्यान्न वस्तुहरुको आपूर्तिमा अवरोध, ऊर्जा सङ्कटजस्ता कारणले आर्थिक वृद्धि कर कम हुने ठानिएको छ ।

सन् २०२३/२४ मा भारतले ७.१ प्रतिशत आर्थिक वृद्धि कायम गर्ने अनुमान गरिएको छ । त्यसैगरी बङ्गलादेशले ६.९, भुटानले ६.७ र पाकिस्तानले ४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने विश्व बैङ्कको प्रक्षेपण रहेको छ ।