८ मंसिर, २०८१ शनिबार

04:13:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सार्वजनिक शौचालयका लागि नविल बैंक र काठमाण्डौं महानगरपालिकाबीच सम्झौता, महानगरभित्रका १८ शाखामा शौचालय

Nepal Business

२५ जेठ, २०७९

सर्वसाधारण तथा सेवाग्राहीहरुसँग शौचालय प्रयोग गरे वापत कुनै शुल्न नलिने

 सार्वजनिक शौचालयका लागि नविल बैंक र काठमाण्डौं महानगरपालिकाबीच सम्झौता, महानगरभित्रका १८ शाखामा शौचालय

काठमाण्डौं । नविल बैंकले पनि सार्वजनिक शौचालय बनाउने अभियानमा काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई साथ दिएको छ ।नविल बैंकले काठमाडौं महानगरभित्रका आफ्ना १८ शाखामा रहेका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने गरी महानगरपालिकासँग सम्झौता गरेको छ । 

महानगर र बैंकबीच भएको १३ बुँदे सम्झौतामा सार्वजनिक बनाइएका सबै शौचालयको दायित्व बैंक स्वयम्ले बहन गर्ने उल्लेख छ । पाँच वर्षका लागि यो सम्झौता गरिएको हो ।

त्यसपछि  फेरि सम्झौताको अवधि थप्न सकिनेछ । सार्वजनिक शौचालयको अनुगमन र मूल्यांकनका लागि प्रत्येक चार महिनामा दुवै पक्षबाट एक–एक प्रतिनिधि खटाइने सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौतामा काठमाण्डौं महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल र नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले हस्ताक्षर गर्नुभएको हो । 

महानगरको नगरकार्यपालिका बैठकले गत जेठ १६ गते काठमाण्डौंभित्रको होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायमा रहेका शौचालयहरूलाई सर्वजनिक प्रयोगमा ल्याउने निर्णय गरेको थियो । जसमा नविल बैंकले पहिलो सुरुवात गरेको छ । 

सर्वसाधारण तथा सेवाग्राहीहरुसँग शौचालय प्रयोग गरे वापत कुनै शुल्न नलिने बैंकले जनाएको छ । साथै बैंकले आफ्नो कुनै किसिमको सेवा लिनका निम्ति करकाप र प्रोत्साहन पनि नगर्ने पनि जनाएको छ । 

सम्झौता अनुसार काठमाण्डौंमा नविल बैंकको स्वामित्व र भोगाधिकार भएका १८ वटा शाखा कार्यालयमा रहेका चालु हालतका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने उल्लेख छ ।

सार्वजनिक शौचालय भएका भवनमा प्रष्ट देखिने गरी सूचना बोर्ड राख्नुपर्ने छ । शौचालयमा आवश्यक सरसफाइको जिम्मेवारी बैंककै हुनेछ ।