२ कार्तिक, २०८१ शुक्रबार

12:26:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विश्वविद्यालय उद्यमका लागि आवश्यक जनशक्ति उत्पादन गर्नमा असफल

Nepal Business

२२ जेठ, २०७९

विश्वविद्यालय उद्यमका लागि आवश्यक जनशक्ति उत्पादन गर्नमा असफल

काठमाण्डौं । नेपाली विश्वविद्यालयहरुले उद्यमका लागि आवश्यक जनशक्ति उत्पादन गर्न नसकेको उद्यमी तथा सरोकारवालाहरुले बताएका छन् । 

उद्यम तथा प्राज्ञिक क्षेत्रबीच आवश्यक सहकार्य र संवाद नहुँदा विश्वविद्यालयहरु दक्ष जनशक्ति उत्पादन गर्नमा चुकेको र व्यवसायले आफूले चाहेको जनशक्ति नपाएको अवस्था रहेको उनीहरुको भनाइ छ । 

जनमैत्री बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजीसी)को सहयोगमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव दीपक काफ्लेले विद्यार्थीहरुलाई बजारमा पठाउनुअघि आधारभूत व्यावसायिक तथा प्राविधिक ज्ञान दिनु जरुरी रहेको बताउनुभयो । 

उहाँका अनुसार विश्वविद्यालयले विद्यार्थीहरुलाई प्रविधिमैत्री र रोजगारमुखी शिक्षा दिई प्रतिस्पर्धी बनाउनु आवश्यक छ । 

शिक्षा विज्ञ प्राध्यापक डा.विद्यानाथ कोइरालाले विकसति देशहरुमा उद्योग र विश्वविद्यालयसँगै बसेर कोर्स डिजाइन गरिने भएकाले उनीहरु बजारमा सहजै बिक्ने तर नेपालमा भने त्यस्तो सहकार्यको अभावमा उच्च शैक्षिक संस्थाहरु प्रतिस्पर्धी जनशक्ति उत्पादनमा असफल भएको बताउनुभयो । ‘त्यस्तो संस्कृति यहाँ पनि अपनाउनु पर्ने देखिन्छ’, उहाँले भन्नुभयो । 

पर्यटन उद्यमी तथा प्यासिफिक एशिया ट्राभल एशोसिएशनका पूर्व सचिव, वसन्तराज मिश्रले विश्वविद्यालयहरुलाई अन्तरराष्ट्रिय अभ्यासलाई हेरेर आफ्ना पाठ्यक्रमहरु परिमार्जन गर्न सुझाव दिनुभयो । 

‘कोरोना महामारीपछि उपभोक्ता संरक्षण कानुनहरुको महत्व ज्यादै बढेर गएको छ, त्यस्तो विषयहरुमा हामीले ध्यान दिनुपर्छ’, उहाँले भन्नुभयो । 

यसका साथै स्वरोजगारमूलक शिक्षाको महत्व झन बढेको तर विश्वविद्यालयहरुले त्यसलाई सम्बोधन गर्न नसकेको उहाँले बताउनुभयो । 

नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन) का अध्यष परितोष पौड्यालका अनुसार डिजिटल प्रविधिको तिब्रतर विकासले प्राज्ञिक क्षेत्र र उद्योगबीचको खाडल झनै बढाएको बताउनुभयो । 
कोलम्बो प्लान स्टाफ कलेज, मनिला, फिलिपिन्सका पूर्व महानिर्देशक डा.रामहरि लामिछानेले गुरुकुल र आधुनिक शिक्षाका राम्रा अभ्यासको मिश्रण गरेर प्रभावकारी शिक्षण पद्दतिको विकास गर्न सुझाव दिनुभयो । 

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, डा.भीम प्रसाद सुवेदीले हरेक वर्ष ९० हजारको हाराहारीमा नेपाली विद्यार्थीहरु विदेशका विश्वविद्यालयमा पुगिरहेको बताउँदै गुणस्तरीय शिक्षा र तालिमको सहायताले उनीहरुका लागि स्वदेशमै राम्रो आय गर्न सक्ने क्षमता विकास गर्नु पर्नेमा जोड दिनुभयो । 

जनमैत्रीका क्याम्पस प्रमुख भोलानाथ ओझाले अनुदान आयोग, शिक्षा मन्त्रालयलगायत संस्थाले विश्वविद्यालय र शैक्षिक संस्थाहरुलाई आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनु पर्ने आवश्यकता औंल्याए ।

सो कार्यक्रममा अर्थशास्त्री तथा क्याम्पसका अध्यक्ष डा.डिल्लिराज खनाल, लक्ष्मी बैंकका मानव संशाधन विभागका अमित शर्मालगायतले पनि आफ्ना धारणा राख्नुभयो । 

कार्यक्रम आयोजक क्याम्पसको रिसर्च म्यानेजमेन्ट सेलका प्रमुख डा. निलम सूवेदीले बजारमा बढ्दै गएको बेरोजगारीको अवस्था, अर्को तर्फ उद्योग व्यावसायीले दक्ष जनशक्तिको अभाव भएको गुनासो आइरहेको अवस्थामा विश्वविद्यालय र उद्योगबीचको ग्याप पत्ता लगाई त्यसलाई समाधान गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 

जनमैत्री बहुमुखी क्याम्पस काठमाण्डौँ उपत्यकामा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रमाणपत्र (क्युएए) प्राप्त गर्ने पहिलो सामुदायिक क्याम्पस हो । २०४७ सालमा स्थापित यो क्याम्पसमा हाल करिब २ हजार विद्यार्थी अध्ययनरत छन् ।