२० बैशाख, २०८१ बिहिबार

11:56:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बागमतीका कृषकले दूधको अनुदान असारभित्रै पाउने, कति पाउन्छन् अनुदान ?

Nepal Business

२२ जेठ, २०७९

मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेका अनुसार दूधको अनुदानका लागि १६ करोड र पशु स्रोत केन्द्रका लागि एक करोड ६० लाख अनुदान रकम विनियोजन गरिएको

बागमतीका कृषकले दूधको अनुदान असारभित्रै पाउने, कति पाउन्छन् अनुदान ?

चितवन । बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दूध र पशु स्रोत केन्द्रलाई विनियोजन गरेको अनुदान रकम आगामी असारभित्र नै उपलब्ध गराउने गरी काम अघि बढाएको छ । 

पशुपक्षी तथा मत्स्यविकास निर्देशनालयमार्फत दिइने सो अनुदानबाट प्रदेशभित्रका एक लाखभन्दा बढी कृषक प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेका अनुसार दूधको अनुदानका लागि १६ करोड र पशु स्रोत केन्द्रका लागि एक करोड ६० लाख अनुदान रकम विनियोजन गरिएको छ । 

आइतबार यहाँ पत्रकारसँग कुरा गर्दै पाण्डेले भन्नुभयो,  ‘असारभित्रै हामी अनुदान रकम बाँड्ने गरी काम गर्दैछौँ ।’ निर्देशनालयमा रहेका केही कर्मचारीले प्रक्रिया अघि नबढाएपछि कृषकको चौतर्फी दबाब परेको थियो ।  

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेका अनुसार निर्देशनालयका कर्मचारीले काम नगरेका कारण प्रक्रिया अघि बढ्न ढिला भएको थियो । काम नगर्ने कर्मचारीलाई सरुवा गरेर अन्य कर्मचारी पठाउन दबाब दिएकै कारण निर्देशनालयले काम अघि बढाएको उहाँले बताउनुभयो । 

दूध अनुदानमा गत वर्ष चितवनका किसानले आठ करोड पाएका थिए । चितवनमा यस वर्ष १०४ सहकारी संस्थाले अनुदानका लागि आवेदन दिएका छन् । बगालेले भन्नुभयो, ‘आधाभन्दा बढी अनुदान रकम चितवनका किसानले पाउँछन् ।’ निर्देशनालयले दूधमा गत वर्ष प्रतिलिटर दुई अनुदान दिएको थियो । त्यसका लागि कम्तीमा २२ करोड आवश्यक पर्ने उहाँ बताउनुहुन्छ । 

गत वर्षको जति नपाएपछि केही कम रकम पाउनेमा अब ढुक्क भएको उहाँको भनाइ छ । आफूहरुले दबाब नदिएको भए कृषक अनुदान पाउनबाट बञ्चित हुने अवस्थामा पुगिसकेको उहाँ बताउनुहुन्छ ।
सचिव पाण्डेले काम नगर्ने कर्मचारी सरुवा गरेपछि निर्देशनालयका कर्मचारीले अनुगमन थालेकाले असार लागेसँगै अनुदान रकम भुक्तानी गर्न सकिने बताउनुभयो। 

कृषकको चौतर्फी दबाबपछि मन्त्रालयले कर्मचारी सरुवा गरेर काम अघि बढाएको जनाएको छ । निर्देशनालयका सरुवा भएका कर्मचारीले आचरण विपरीत गोपनियता भंग गरेको भन्दै मन्त्रालयले कारबाही प्रक्रिया समेत अघि बढाएको छ ।  

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र केरा व्यवसायी संघको यहाँ पत्रकार सम्मेलनको आयोजना गरी मन्त्रालयले काम अघि बढाएकामा खुसी प्रकट गर्दै सबैलाई सहयोगका लागि अनुरोध गरेका थिए ।

रासस