१६ कार्तिक, २०८१ शुक्रबार

03:17:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जनताले अनुभूति गर्ने विकास योजना ल्याउनु पर्छः रामचन्द्र पौडेल

Nepal Business

२१ जेठ, २०७९

जनताको माग र आवश्यकताका आधारमा जनप्रतिनिधिले योजना तर्जुमा गर्नुपर्ने आवश्यकता औँल्याउँदै वरिष्ठ नेता पौडेलले जनताको सेवक भएर काम गर्न आग्रह गर्नुभयो ।

जनताले अनुभूति गर्ने विकास योजना ल्याउनु पर्छः रामचन्द्र पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले अनुभूति गर्ने खालका विकास योजना अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । तनहुँको व्यास नगरपालिकाले शनिबार आयोजना गरेको कार्यक्रम प्राथमिकीकरण अभ्यास कार्यशाला शुभारम्भ गर्दै उहाँले नगरवासीले अनुभूति गर्नेगरी मानव कल्याण र प्रकृतिको संरक्षणमा केन्द्रित रही विकासका कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभएको हो । 

आम जनताको माग र आवश्यकताका आधारमा जनप्रतिनिधिले योजना तर्जुमा गर्नुपर्ने आवश्यकता औँल्याउँदै वरिष्ठ नेता पौडेलले जनताको सेवक भएर काम गर्न आग्रह गर्नुभयो ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई नीति तथा कार्यक्रम बनाउँदा प्राथमिकता दिनुपर्ने विषयमा  जानकारी गराउन उक्त कार्यशाला आयोजना गरिएको बताउनुभयो । 

कार्यक्रममा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले योजना तर्जुमा गर्ने आधारबारे जानकारी गराउनुभयो  ।

उहाँले स्थानीय तहको आवधिक योजनाले निर्दिष्ट गरेका विषय, दिगो विकास लक्ष्यमा तय गरिएका प्राथमिकता, नेपालको संविधान २०७२ को अनुसूची ८ मा व्यवस्था भएका एकल अधिकारका क्षेत्र, मौलिक हक, राज्यका निर्देशक सिद्धान्त र स्थानीय तहका अधिकारका विषयमा प्रष्ट पार्नुभएको थियो । 

नगरपालिकाका वरिष्ठ इञ्जिनीयर डा राजु पौडेलले आव २०७८/७९का योजनाहरुको प्रगति विवरण सार्वजनिक गर्नुभएको थियो । डा शेषरमण न्यौपानेले वार्षिक बजेट तथा कार्यक्रम तर्जुमाका चरणहरु र स्थानीय तहका जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारबारे प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देललगायत १४ वटै वडाका जनप्रतिनिधिको सहभागिता थियो । रासस