७ मंसिर, २०८१ शुक्रबार
04:38:42 PM
१९ पुस, २०७८
काठमाडौँ, १९ पुस । लगानी बोर्डमा लगानीकर्ता कक्ष स्थापना भएको छ । अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष जनार्दन शर्माले लगानीकर्ता कक्षको आज उद्घाटन गर्नुभयो ।
कक्षमा नेपालमा लगानीका सम्भावना, लगानीका क्षेत्र, परियोजना बैंकमा समावेश भएका परियोजनाका विवरणका साथै लगानीकर्ताका लागि आवश्कयक अनलाइन सेवाहरु उपलब्ध छन् ।
लगानी बोर्डको कार्यालयमा स्थापना भएको उक्त कक्षमा नेपालमा लगानीका सम्भावना, लगानीका क्षेत्र, परियोजना बैंकमा समावेश भएका परियोजनाका विवरणका साथै लगानीकर्ताका लागि आवश्कयक अनलाइन सेवाहरु उपलब्ध छन् ।
सो अवसरमा मन्त्री शर्माले नेपालमा लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउँदै कानूनले भ्याएसम्मका सुविधा दिन सरकार तयार रहेकाले निर्धक्क भएर नेपालमा लगानीका लागि आह्वान गर्नुभयो । उहाँले नेपालमा लगानीका प्रचुर सम्भावना रहेको उल्लेख गर्दै विकासकर्ताले जति सक्दो चाँडो परियोजना सम्पन्न गर्नसमेत आग्रह गर्नुभएको बोर्डका प्रवक्ता सुरेन्द्र पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
परियोजना कार्यान्वयनमा देखिएका समस्याबारे सरकारलाई लगानीकर्ताहरुले समयमै जानकारी गराउन आग्रह गर्दै मन्त्री शर्माले लगानीकर्ता कक्षले लगानीकर्ताहरुका लागि आवश्यक सबै सूचनाहरु उपलब्ध गराएर नेपालमा लगानीका हरेक पक्षबारे अद्यावधिक जानकारी गराउने र कक्षको सुविधा तथा क्षमता विस्तार गर्दै लगिने उल्लेख गर्नुभयो ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानीकर्तालाई नेपालमा लगानीका अवसरहरूबारे जानकारी दिने तथा सहजीकरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले लगानीकर्ता कक्ष स्थापना भएको बताउँदै यसलाई चाँडै नै एकल विन्दु सेवासँग आबद्ध गरिने जानकारी दिनुभयो ।
उहाँले लगानीकर्ताको सेवालाई केन्द्रित गरी लगानी बोर्डले अगाडि बढाएका गतिविधिहरूमध्ये लगानीकर्ता कक्षको स्थापना पनि रहेको उल्लेख गर्दै यसको शुभारम्भ लगानी बोर्डको १०औँ वार्षिकोत्सव कार्यक्रमको एक हिस्साका रूपमा समेत रहेको बताउनुभयो ।
उहाँले लगानी बोर्ड र विकासकर्ताहरुबीच अन्तरक्रियालाई निरन्तरता दिइने जानकारी दिनुभयो । कार्यक्रममा लगानी बोर्डले सहजीकरण गरिरहेका परियोजना विकासकर्ताका प्रतिनिधिले परियोजना कार्यान्वयनको अवस्था र लगानी बोर्डले गरिदिनुपर्ने सहजीकरणका विषयमा जानकारी गराएका थिए । रासस