१० मंसिर, २०८१ सोमबार
01:46:59 AM
१५ जेठ, २०७९
दक्षिण एशियाका महिला, दलित, अल्पसंख्यक तथा सीमान्तकृत समुदायले भोग्दै आएका विभेद र वञ्चितिकरणको अन्त्य नभएसम्म असमानता बढ्दै जाने
काठमाण्डौं । दक्षिण एशियामा बढ्दै गएको बहुआयामिक संकट र असमानताका बारेमा गम्भीर बन्न दक्षिण एशियाका नागरिक संगठनका अभियन्ताहरुले आग्रह गरेका छन् ।
काठमाण्मौंमा सम्पन्न गरिबी उन्मूलनका लागि दक्षिण एशिया मञ्चकोे छैटौँ वार्षिक सभा तथा जनसार्क बैठकमा सहभागी दक्षिण एशियाका सामाजिक अभियन्ता, अधिकारकर्मी तथा विज्ञहरुले यस क्षेत्रमा बढ्दै गएको आर्थिक, राजनीतिक र सामाजिक संकट तथा कोभिड पश्चातको आर्थिक पुनरुत्थानका विषयहरुमा गम्भीर बन्न सरोकारवालाहरुको ध्यानाकर्षण गराएका हुन् ।
दक्षिण एशियाका महिला, दलित, अल्पसंख्यक तथा सीमान्तकृत समुदायले भोग्दै आएका विभेद र वञ्चितिकरणको अन्त्य नभएसम्म असमानता बढ्दै जाने भएकोले आफूले चाहेको सामाजिक न्याय र समानता हासिल हुन नसक्ने तर्फ सचेत गराउँदै कार्यक्रमका सहभागीहरुले सम्वन्धित देशका सरकारहरुलाई उचित नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।
कार्यक्रममा आर्थिक, राजनीतिक र मानवीय संकट बेहोरिरहेका दक्षिण एशियाली देशहरु श्रीलंका र अफगानिस्तानका बारेमा वशेष प्रस्तुति भएको थियो र
अफगानिस्तानका एक सामाजिक अभियन्ताले तालिवान सत्तामा आएपछि आर्थिक, राजनीतिक र सामाजिक प्रणाली ध्वस्त भएको र धेरै नागरिकहरु विस्थापित जीवन बिताइरहको बताउनुभयो।
अफगानिस्तानी नागरिक आधारभूत मानव अधिकारबाट बञ्चितभएको जनाउँदै उहाँले महिला र बालबालिकाको अवस्था थप दर्दनाक रहेको बताउनुभयो । साथै उहाँले यो अवस्थामा सुधार गर्नका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभयो ।
यसैगरी श्रीलंकाका निमल्काफर्नान्डोले श्रीलंकाको आर्थिक संकटबारे जानकारी दिँदै त्यहाँका नागरिकहरु चरम् संकटमा रहेको बताउनुभयो । गलत राजनीतिक र आर्थिक नीतिका कारण अहिलेको समस्या उत्पन्न भएको बताउँदै फर्नान्डोले आन्तरिक र बाह्य ऋणका कारण अहिलेको संकट गहिरिएको बताउनुभयो ।
उहाँले श्रीलंकामा चरम मूल्यवृद्धि, औषधीअभाव र वैदेशिकमुद्राको अभाव भएको समेत जानकारी दिनुभयो । कार्यक्रममा दक्षिण एशियामा बढ्दै गइरहेको बहुआयामिक संकट र असमानताका बारेमा छलफल गरी दक्षिण एशियामा सामाजिक आन्दोलनलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिइयो ।
यस अन्तर्गत कोभिड १९ का कारण कमजोर हुँदै गएको आर्थिक प्रणाली, वित्तीय सुशासन, दक्षिण एशियाको गरिबीको अवस्था, असमानज्याला, सुशासन, ऋण, प्रगतिशील कर, लैंगिक न्याय, वातावरणीय संकट एवम् कृषि र खाद्य प्रणाली, लोकतन्त्र र मानव अधिकार, स्वास्थ्य प्रणाली र कोभिड विरुद्धको खोप तथा आर्थिक पुनरुत्थान जस्ता विषयहरुमा छलफल भएको थियो ।
छलफलमा भारतका बाबु माथ्यु, जाकीया सोमन, बाबु पी रमेश, नीता, शोभा रघुराम, बंगलादेशका सहनाज सुमि, मनोवर मुस्तफा, श्रीलंकाकी लोगेश्वरी पुनि, नलिनी रतनराज, नेपालका हरि शर्मा, सुशील प्याकुरेल, डा.नेत्र तिम्सिना, शर्मीला कार्की, उद्धव प्याकुरेल, कनकमणी दीक्षित, डा.अर्जुन कार्की, बिमला राई (पौडेल), डा.प्रेम दंगाल, भुटानका गोविन्द रिजाल, पाकिस्तानका फारुक तारिकले दक्षिण एशियाको समग्र अवस्था र नयाँ सामाजिक आन्दोलन र जनसंघर्षका बारेमा आ–आफ्ना धारणा राख्नु भएको थियो ।
कार्यक्रम भौतिक उपस्थिति र भर्चुअल गरी हाइब्रीडमोडलमा सम्पन्न भएको थियो । भेलामा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, पाकिस्तान, श्रीलंका र नेपालका प्रतिनिधिहरुको सहभागिता रह्यो । यस भेलाले दक्षिण एशियाका उपरोक्त विषयहरुमा ३१ बुँदे काठमाण्डौँ घोषणापत्र जारी गर्दै दक्षिण एशियाको संकट समाधान गर्न जनसार्कलाई अझ मजबुत बनाउँदै सामाजिक अभियानहरुलाई सुदृढ र गतिशील बनाउनु पर्नेमा जोड दिएको छ ।