१३ बैशाख, २०८१ बिहिबार

06:13:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फोर्ब्सको ३० वर्षमुनिका एसियन युवाको सूचीमा ५ नेपाली, को को छन सूचीमा ?

Nepal Business

१२ जेठ, २०७९

प्रभावशाली एसियान युवाको सूचीमा ५ जना नेपाली युवा परेका छन् ।

फोर्ब्सको ३० वर्षमुनिका एसियन युवाको सूचीमा ५ नेपाली, को को छन सूचीमा ?

काठमाण्डौं । फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियान युवाको सूचीमा ५ जना नेपाली युवा समेटिएका छन् ।। उक्त प्रभावशाली सूचीमा सुजित पाठक, सुमित दाहाल, ऐश्वर्या रानी सिंह, निरज काफ्ले र सन्तोष पाण्डे समेटिएका हुन्।

चार हजारभन्दा बढी युवाबाट तीन सय जना छनौट गरिएकोमा सोही तीन सयबाट ३० वर्ष मुनिका ३० जना उद्यमी, सामाजिक काममा सक्रिय, नेतृत्वदायी र समाजमा सकारात्मक भूमिका निर्वाह गरेका युवाको अन्तिम सुची तयार पारिएको हो ।

२९ वर्षीय सुजित पाठक इनग्रेल नेपालका सहसंस्थापक हुनु हुन्छ।  उहाँ कन्जुमर टेक्नोलोजी विधामा सूचीकृत हुनु भएको हो। प्रारम्भिक दिनमा एक सञ्चार एपको रूपमा सुरू भएको इनग्रेल नेपालले हाल नेपालको ८ सयभन्दा बढी विद्यालयमा डिजिटल सहायता पुर्‍याइरहेको छ।

यसैगरी सुमित दाहाल नासा गोडार्ड स्पेस फ्लाइट सेन्टरका प्रयोगात्मक एस्ट्रोफिजिसिस्ट र पोस्टडक्टरल हुनु हुन्छ । २७ वर्षीय सुमितले ब्रह्माण्डको उत्पत्ति र विकासको अध्ययनका लागि टेलिस्कोपहरू निर्माण गरिरहनु भएको छ ।

उहाँले चिलीको अटाकामा मरूभूमिमा ब्रह्माण्डको प्रारम्भिक क्षणका माइक्रोवेबका अवशेषहरू अध्ययनका लागि तीनवटा माइक्रोवेब टेलिस्कोप तयार पार्नु भएको छ ।

पुतली नेपालकी संस्थापक बोर्ड अध्यक्ष ऐश्वर्या रानी सिं‍ह सोसल इम्प्याक्ट अर्थात सामाजिक प्रभाव विधामा सूचीकृत हुनु भएको हो। पुतली नेपाल एक गैरनाफामूलक संस्था हो, जसले युवाहरूलाई उनीहरूको समुदायमा प्रशिक्षक बन्न मद्दत गर्छ। यो संस्था महिनावारी स्वच्छता शिक्षा र प्रशिक्षणमा केन्द्रित संस्था हो।

रिटेल एन्ड इ–कमर्स विधामा सूचीकृत निरज काफ्ले र सन्तोष पाण्डे अफरिङ ह्यापिनेसका सह–संस्थापक हुनु हुन्छ। २८ वर्षीय निरज र २५ वर्षीय सन्तोषले सन् २०१७ मा अफरिङ ह्यापिनेस सञ्चालनमा ल्याउनु भएको हो ।

अफरिङ ह्यापिनेसले उपहार र सर्प्राइज प्याकेज डेलिभरी गरेर खुसी बाँड्ने काम गरिरहेको छ।